जनता टाइम्स

५ कार्तिक २०७९, शनिबार १५:०५

जुम्लामै ७० जनालाई रोजगारी दिँदै मनोज


जुम्ला, ५ कात्तिक । चन्दननाथ नगरपालिका–५ कालेखोलीका मनोज बुढाथोकी मगरले जुम्ला मै ७० जनालाई रोजगारी दिइरहनुभएको छ । उहाँले बैदेशिक रोजगारीका लागि विदेसिने युवा शक्तिलाई स्वदेश मै रोक्न रोजगारीमूलक पेशा व्यवसायी सुरु गर्नुभएको हो । स्वदेशमा रोजगारको अवसरमा नपाएका युवाहरू दिनप्रतिदिन भरतसहितका खाडी मुलुकतिर लागेको देखेपछि उहाँले युवालाई रोङ्उकन उद्योग संञ्चालन गरेको बुढाथोकी मगरले बताउनुभयो ।

मनोजले एम्स एग्रिकल्चर रिसर्च सेन्टर सञ्चालन गर्नुभएको छ । उहाँले रिसर्ज सेन्टरमार्फत धेरै उद्यमशिलताका काम गर्दै आएको बताउनुभयो । इँट्टा उत्पादन, ग्रिल निर्माण, कुटानीपिसानी मिल, व्यावसायीक बङ्गुर पालनसहित बोर्डिङ स्कूल सञ्चालन गर्नुभएको छ । उहाँको बङ्गुर पालन व्यावसायले बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेको छ ।

फोहोर व्यवस्थापनको दिगो लक्ष्यसहित एक वर्षअघि ६ लाख लगानीमा बङ्गुर पालन व्यवसाय सुरु गर्नुभएको हो । एम्स एग्रीकल्चर रिसर्च सेन्टरद्वारा उद्यमी मनोजले व्यवसाय सुरु गर्दा तीन वटा बङ्गुर थिए । अहिले ४५ वटा छन् । बहुउद्देश्यीय लक्ष्यले बङ्गुरपालन सुरु गरिएको उहाँले बताउनुभयो । बजारमा फोहोर बढ्दै गएपछि चन्दननाथ नगरपालिकालाई व्यवस्थापनको समस्या पनि उत्तिकै छ ।

तर, बङ्गुर पालेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेका छन् । बङ्गुर फर्म आसपासको जग्गा भाडामा लिएर व्यावसायीक तरकारी खेती गर्ने र बङ्गुरको दिसालाई मलका रुपमा प्रयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो । ‘बजारको फोहोर खुवाउने, दिसा मलका रुपमा प्रयोग गरी तरकारी खेती गर्ने बहुउद्देश्यीय लक्ष्य सफलता उन्मुख छ,’ उहाँले भन्नुभयो ।

दैनिक रुपमा बजारको झण्डै तीन क्विन्टल कुहिने फोहोर व्यक्तिगत रुपमा संकलन गरी बङ्गुरको दानाको रुपमा प्रयोग भइरहेको छ । उहाँले कुटानी पिसानी मिल समेत सञ्चालन गर्नुभएको छ । जसबाट स्थानीयलाई राहत मिलेको छ । राजनीतिसँगै उद्यमशीलतामा सफल बन्दै गएका मनोजले आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र उद्यमशीलतामा जोड दिनुभएको छ ।

उद्यमशीलतामा लगानी बढाए अबको २० वर्षपछि जुम्लासहित मुलुक परनिर्भरताबाट मुक्त हुने उहाँले विश्वास गर्नुभएको छ । मनोज राजनीतिज्ञ पनि हुन् । उहाँ माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्यसमेत हो । विद्यार्थी जीवनदेखि राजनीतिक गर्दै आएका मनोजले ०७४ सालदेखि स्वदेशमै स्वरोजगार खोज्दै उद्यमशिलता गर्न थाले छन् ।