जनता टाइम्स

२० कार्तिक २०७५, मंगलवार ११:४२

पाठेघरको मुखको क्यान्सर: पहिचान र व्यवस्थापन


पाठेघरको मुखको क्यान्सर संसारमा देखापर्ने क्यान्सरमध्ये ज्यानै लिनसक्ने क्यान्सर रोग हो। लाखौं महिलाहरु प्रत्येक वर्ष विश्वमा पाठेघरको मुखको क्यान्सरबाट प्रभावित छन्। जसमध्ये ५० प्रतिशत महिलाको उक्त समस्याबाट मृत्यु भइरहेको छ। विश्वमा हेर्ने हो भने महिलामा देखापर्ने क्यान्सरमध्ये स्तन, आन्द्रा, फोक्सोपछि चौथौ नम्बरमा नै पाठेघरको क्यान्सर आउँछ । नेपालमा भने यो क्यान्सर पहिलो स्थानमा रहेको छ।

विकसित देशहरुमा समयमा नै स्क्रिनिङ  गरी क्यान्सर हुनुअगावै त्यसको व्यस्थापन गरिने हुँदा क्यान्सर हुने र उक्त रोगबाट हुने मृत्युदरमा निकै नै कमी आइसकेको छ। नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा अझै पनि जनचेतनाको कमीको कारणले धेरै स्क्रिनिङ विधिको उपलब्धता हुँदाहुँदै पनि पाठेघरको मुखको क्यान्सरको समयमा पत्ता नलाग्दा रोगको निदान हुन नसकी महिलाको मृत्यु भएको अवस्था छ।

यो क्यान्सर हुनुका धेरै कारण छन् जसमध्ये मुख्य कारण भनेको भाइरसको संक्रमण हो। सानै उमेरदेखि यौन सम्बन्धमा रहनु, धेरै जनासँग यौन सम्पर्कमा रहनु, धूमपान गर्नु, धेरै पटक गर्भवती हुनु आदि यस क्यान्सर जोखिमका कारक हुन्। पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरुमा अनियमित रुपमा योनीबाट रक्तश्राव हुनु, बढी मात्रामा योनीबाट फोहोर पानी बगिरहनु, महिनावारी रोकिइसकेपछि पनि बीचबीचमा रक्तश्राव हुनु, यौन सम्बन्धमा रहँदा बढी दुख्नु, कम्मर दुख्नु आदि हुन्।