जनता टाइम्स

१ मंसिर २०७९, बिहीबार १३:३१

जुम्लामा एक हजार नौ सय ५४ सुरक्षाकर्मी परिचालन


जुम्ला, १ मंसिर । ४ मंसिरमा हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदातालाई मतदान गर्न सहज बनाउन सुरक्षाकर्मीहरु खटिएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार एक हजार नौ सय ५४ जना सुरक्षाकर्मी खटिएका छन् । एक सय ६ मतदान केन्द्र स्थायी र दुई अस्थायी गरी एक सय आठ मतदान केन्द्र र ८६ मतदान स्थल रहेको जुम्लाकी प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनुभयो ।

उहाँका अनुसार एउटा अस्थायी मतदान केन्द्र कर्मचारी र अर्को कारागारका कैदीबन्दीका लागि राखिएको हो । कर्मचारी र कारागारमा रहेका कैदीबन्दीले सामानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने ब्यवस्था छ । जुम्लाको सुरक्षा निकायले पार्टीका कार्यकर्ताहरूको झडप, आपराधिक समूहको गतिविधि, अवैध हातहतियारलाई चुनौतीका रूपमा लिएका छन् ।

निर्वाचनका लागि जिल्लामा एक हजार नौ सय ५४ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । जसमा आठ सय ४३ म्यादी प्रहरी, दुई सय २६ नेपाल प्रहरी, चार सय ५० नेपाली सेना र दुई सय ३५ सशस्त्र प्रहरी मतदान स्थलमा खटिएका छन् । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताउनुभयो ।

उहाँका अनुसार टाढा रहेका मतदान अधिकृतहरू गइसकेका छन् । नजिकै रहेका मतदान स्थलहरूका लागि जाने क्रम जारी रहेको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार सबै मतदान स्थलमा सुरक्षाकर्मी आज पुग्ने बताउनुभयो । निर्वाचनको लागि आठ सय ३९ कर्मचारी खटाइएको छ ।