जनता टाइम्स

२१ पुष २०७९, बिहीबार १३:५८

एमालेको त्यो आकर्षक अफर माधवले नमान्दा ‘घर न घाट’को अवस्थामा पुग्यो नेकपा एस


काठमाडौं, पुस २१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको आकर्षक प्रस्ताव नमान्दा घरको घाटको अवस्थामा सो पार्टी पुगेको तथ्य बाहिर आएको छ ।

चुनाव सकिएसँगै एमालेको तर्फबाट सो पार्टीका अध्यक्ष नेपाललाई एमालेले सत्ता सहकार्यबारे कुरा गर्दा राष्ट्रपति आफूलाई चाहिने सर्त राखेपछि नेकपा एस सत्ता गठबन्धनबाटै बाहिर पुगेको तथ्य खुलेको हो ।

चुनावपछि एमालेका बिभिन्न तहका नेताहरुले माधवसँग कांग्रेस नेतृत्वको गठबन्धन तोडेर आए पुरानो सवै कुरा भुलेर सहकार्य गर्ने प्रस्ताव राखेका थिए । तर नेपालले एमालेसँग सहकार्य गर्नका लागि आफू राष्ट्रपति हुनुपर्ने सर्त तेस्र्याउनुका साथै आफूबिना नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड कतै नजाने भन्दै हठ लिनुभएपछि उहाँबिनै एमालेले नयाँ गठबन्धन बनाएको हो ।

चुनावी परिणामपछि कांग्रेस नेतृत्वको गठबन्धन जसरी पनि भत्काउने योजना बनाएको एमालेका नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै माधवलाई पनि समानान्तर कुराकानी गरेका थिए । तर नेपालले कांग्रेससँगको दोस्ती त्याग्न नसक्ने र एमालेसँग सहकार्य गर्दा आफूलाई राष्ट्रपति चाहिने बताउनु भएपछि कुरो बिग्रिएको हो ।

‘माधव कमरेड एमालेसँग सहकार्य गर्न अनेक बहानावाजी खोज्नुभयो, पुरानो गठबन्धन कुनै हालतमा टुटदैन, प्रचण्ड कांग्रेसतिरै रहिरहन्छन भनेर एमालेको आकर्षक प्रस्ताव अस्वीकार गर्दा अहिले घर न घाटको अवस्थामा पुग्नुपरेको हो,’ नेपालसँग बार्ता गरेका एमालेका एक नेताले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार सवै बातावरण मिलाएर महासचिव उपाध्यक्ष बिष्णु पौडेल र शंकर पोखरेलले भेटेरै कुरा गर्ने र त्यसलगत्तै अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी नयाँ कोष बनाउने योजना माधवकै कारण असंभव बनेको हो ।

माधवको सो घमण्डसँगै अव नयाँ गठबन्धनमा स्थान नरहेको निश्कर्ष एमाले नेताहरुको छ । ‘सुरुमा गठबन्धन तोडन मान्नुभएन, यो गठबन्धन बनाउनै नदिने अभियान थाल्नुभयो, त्यसैले छुटनुभयो,’ ती नेताको भनाई छ । एमाले महासचिव शंकर पोखरेलले पनि अव नयाँ कोर्षमा माधव नेपालको भूमिका खासै नरहेको निश्कर्ष सुनाउनु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन भत्काउनका लागि माधवको भूमिका सकारात्मक नभई नकारात्मक भएकोले बर्तमान सत्ता गठबन्धनमा सो दललाई स्पेश नरहेको एमाले महासचिव पोखरेलको भनाई छ ।

‘उहाँ (माधव र नेकपा एस) हरूलाई हामीले वर्तमानमा उहाँहरूले खेलेको भूमिकाका आधारमा हेर्ने हो । खासगरी गठबन्धन भत्काउनका निमित्त उहाँहरूको सहयोग प्राप्त हुन्छ कि भनेर हामीले अनुरोध गरेका थियौं । गठबन्धन भत्काउने सन्दर्भमा सत्तामा भएका दलहरूसँग संवाद अनौपचारिक रूपमा गरेका थियौं। त्यो एकीकृत समाजवादीसँग पनि गरेका थियौं। तर उहाँहरूमा कुनै प्रकारको सकारात्मकता पाएनौं । उहाँहरूको भूमिका पूर्णतः नकारात्मक रह्यो,’ महासचिव पोखरेलले एक अनलाइनलाई दिनुभएको अन्तर्वार्तामा भन्नुभएको छ, ‘त्यसकारण परिणाम जसले निकालेको छ उनीहरूको बीचकै सहकार्य हुन्छ । जसको भूमिका नकारात्मक रह्यो त्यसलाई त्यो प्रक्रियाका सन्दर्भमा सकारात्मक रूपमा हेर्न सकिँदैन।’

महासचिव पोखरेलले नयाँ राजनीतिक कोर्षमा नेकपा एसको भूमिका सकिएको र सरकारमा सहभागिता पनि संभव नरहेको प्रष्ट पार्नुभएको छ । ‘हामीले भनेका छौं, ‘तपाईंहरू यो चक्रमा छुट्नुभयो । तपाईंहरूले कतिपय यस्ता परिघटना देखा पर्छन् त्यसमा आफ्नो भूमिका के हुने भन्ने तय गर्न नसक्दाखेरि छुटिन्छ । तपाईंहरू छुट्नुभयो। हाम्रा कारणले छुटेको होइन । आफ्नै कारणले छुटेको हो । त्यसअर्थमा घटना र परिस्थितिलाई नजिकबाट नियाल्ने कुरा राजनीतिक नेतृत्वको कर्तव्य हो । त्यसमा तपाईंहरू चुक्नुभयो । त्यसकारणले असफल पनि हुनुभयो’ भन्ने कुरा गरेका छौं,’ पोखरेलको भनाई छ ।

उहाँले माधव नेपाल बिगतको गलत कुरा सच्याएर सकारात्मक रुपमा आएको अवस्थामा भोलिका दिनमा भने सहकार्य हुने प्रष्ट पार्नुभएको छ । ‘भोलिका दिनको कुरा आफ्नो ठाउँमा छ । आजका लागि उहाँहरूको भूमिका नयाँ गठबन्धन निर्माणका लागि नकारात्मक भएकाले उहाँहरू बाहिर हुनुहुन्छ,’ महासचिव पोखरेलले भन्नुभएको छ । महासचिव पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति दिएर एकता गर्ने र एमाले सबैभन्दा ठूलो पार्टी बन्ने बिषयलाई पनि ठाडै अस्वीार गर्नुभएको छ ।

माधवलाई राष्ट्रपति बनाएर पार्टी एकता गर्ने कुराको चर्चा चलेपछि एमाले कार्यकर्ताहरुले ठाडै अस्वीकार गर्दै सामाजिक सञ्जालमा खवरदारी अभियान नै चलाएका थिए । त्यसबिषयमा महासचिव पोखरेलले पनि प्रष्ट कुरा गर्नुभएको छ । ‘अहिले हामीलाई त्यो कुरामा कुनै रूची छैन। जसले नकरात्मक भूमिका खेल्यो उसलाई नै सम्मान गर्ने तहमा अहिलेको राजनीति पुगेको छ भन्ने मलाई लाग्दैन । कुनै बिन्दुमा उहाँले राष्ट्रिय राजनीतिको अहम मुद्दामा सकारात्मक भूमिका खेल्नुभएछ भने एउटा पक्ष हो । अहिले लगातार नकारात्मक भूमिका खेलेका बेलामा राष्ट्रको सबैभन्दा सम्मानित पदमा पुर्याउने कुरा नीतिगत रूपमा पनि त्रुटिपूर्ण हुन्छ । त्यो हामीले सोचेका छैनौं। त्यसका लागि उहाँहरू हकदार होइन र उहाँहरूले त्यो अपेक्षा पनि राख्नुभएको छ भन्ने म ठान्दिनँ।’

प्रचण्डको भूमिका गठबन्धन भत्काउने कुरामा निर्णायक रह्यो । हामीलाई गठबन्धन भत्काउनु थियो। जसले निर्णायक भूमिका खेल्यो ऊसँग सहकार्य त भइहाल्छ नि । यद्यपी त्यो काम माधव नेपालजीले गरेको भए उहासँग पनि सहकार्य हुन्थ्यो । हामीले त अनुरोध नै गरेका थियौं । तपाईं गठबन्धनको विपक्षमा खडा हुनुहोस, तपाईंहरूलाई ‘रिक्गनाइज’ गर्ने कुरामा हाम्रो कुनै आपत्ति छैन भनेर खबर पठाएका थियौं । तर उहाँहरूको भूमिका सकारात्मक रहेन

नयाँ गठबन्धन बनाउन कुनै प्नि भूमिका नरहेकोले नेकपा एसलाई बर्तमान सरकारमा समेत सहभागी हुन संभव नदेखिएको पोखरेलको भनाई छ । ‘उहाँहरुको भूमिका नयाँ गठबन्धन बनाउने विषयमा रत्तिभर पनि सकारात्मक रहेन । त्यसअर्थमा यो प्रक्रियामा उहाँहरू जोडिन खोज्ने खालका कुरा उहाँहरूका लागि पनि उपयुक्त होइन । हामीले पनि नकारात्मक भूमिका खेल्नेलाई पुरस्कृत गर्ने कुरा सोच्ने कुरा पनि उपयुक्त होइन । अहिले सरकारका लागि खाँचो पनि छैन । जति सरकारमा सामेल भएका दल छन् उनीहरूको स्ट्रेन्थ नै पर्याप्त छ । सरकार गठनका लागि भनेपछि खाँचो पनि छैन र उहाँहरूको भूमिका सकारात्मक पनि रहेन,’ एमाले महासचिव पोखरेलको भनाई छ ।

उहाँले प्रचण्डले समयमा सही निर्णय गरेकोले नै प्रधानमन्त्री बन्नुभएको र एमालेसँग सहकार्य अघि बढेको प्रष्ट पार्नुभएको छ । ‘ प्रचण्डको भूमिका गठबन्धन भत्काउने कुरामा निर्णायक रह्यो । हामीलाई गठबन्धन भत्काउनु थियो। जसले निर्णायक भूमिका खेल्यो ऊसँग सहकार्य त भइहाल्छ नि । यद्यपी त्यो काम माधव नेपालजीले गरेको भए उहासँग पनि सहकार्य हुन्थ्यो । हामीले त अनुरोध नै गरेका थियौं । तपाईं गठबन्धनको विपक्षमा खडा हुनुहोस, तपाईंहरूलाई ‘रिक्गनाइज’ गर्ने कुरामा हाम्रो कुनै आपत्ति छैन भनेर खबर पठाएका थियौं । तर उहाँहरूको भूमिका सकारात्मक रहेन,’ महासचिव पोखरेलले भन्नुभयो ।