जनता टाइम्स

२ माघ २०७९, सोमबार १९:००

अध्यक्ष र उपाध्यक्षको विवादबीच अदानचुलीले पायो नयाँ हाकिम


सुर्खेत, २ माघ । हुम्लाको अदानचुली गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । पालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदा यहाँ दुई जना प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । विवादकै बीचमा नयाँ प्रशासकीय अधिकृत आएपछि समस्य हल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला निर्वाचन कार्यालय सल्यानमा कार्यरत नायब सुब्बा नवराज गिरीलाई नियुक्त गरी पठाएको छ । गिरीले पुस २९ गते आर्थिक अधिकारसहित जिम्मेवारी पाउनुभएको हो । गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकायाका आ–आफ्नै अडानका कारण गाउँपालिकाको कामकाज लामो समयदेखि प्रभावित बनेको थियो ।

स्थानीय तहमा एकजना प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि अदानचुलीमा दुई प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेपछि गाउँपालिकाको काम प्रभावित भएको थियो । प्रमुख प्रशासकीय अधिकृत टक्कबहादुर प्याकुरेललाई गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएसँगै निलम्बित छन् ।

रिक्त पदमा गाउँपालिका अध्यक्ष सिंहले आफू निकट मेगनाथ शाही र उपाध्यक्ष रोकायाले हंस महतारालाई निमित्त प्रशासकीय अधिकृत तोक्नुभएको थियो । अध्यक्ष र उपाध्यक्षको टकरावका कारण गाउँपालिकाको काम प्रभावित भएका समाचारहरू लगातार प्रकाशित भएपछि मन्त्रालयले नयाँ कार्यकारी नियुक्त गरी पठाएको हो ।