जनता टाइम्स

१२ माघ २०७९, बिहीबार ०६:३८

नेतापत्नी हुनु त राधिका अन्टी जस्तो


सत्ता र शक्तिको भोक र उन्माद कस्तो हुन्छ भन्ने थाहा पाउन केही प्रतिनिधि पात्रहरूलाई हेरे हुन्छ । जसले सत्ता र शक्तिको नशामा लट्ठ भएर कहिल्यै नमेटिने बदनामहरू बोकेर हिँडिरहेका छन् । आफैँ प्रधानमन्त्री र मन्त्री भए जसरी सत्ता र शक्ति चलाइरहेका छन् । त्यो सम्पूर्ण चक्रबाट बाहिर हुनुहुन्छ राधिका अन्टी, जसले सत्ता र शक्तिको केन्द्रमा रहेर पनि आफूलाई विवादको घेराभित्र कहिल्यै पर्नुभएन

कृष्ण केसी

एसएलसी उत्तीर्ण गरी एउटा ग्रामीण भेगको केटाको रूपमा म पहिलो पटक काठमाडौँ छिरेको थियो । कता बस्ने, के खाने र कता पढ्ने कुनै योजना थिएन । केही समय काकासँग बस्न थाले । काका नेपाली सेनामा कार्यरत रही (२०५१) मा तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीको सुरक्षाकर्मी (गार्ड) रहनुभएको थियो । म त्यही बस्थे, त्यही खान्थे । म त्यहीँ मन्त्री निवासमा काकासँगै बस्थेँ र भद्रकालीमा टाइपराइटर सिक्थे, अहिले जस्तो कम्प्युटर सिक्ने चलन त्यति बेला थिएन ।

म, मेरो काका (हाल स्वर्गीय) बिलबहादुर खत्रीमार्फत मन्त्री निवासमा जोडिन पुगेको थिएँ । मन्त्री निवासकै अगाडी काकाको कोठा थियो । एक दिन काकाले गृहमन्त्री केपी शर्मा ओली र राधिका शाक्यसँग चिनजान गराउनुभयो । त्यसपछि मैलै केपी शर्मा ओलीलाई काका र राधिका शाक्यलाई अन्टी भनेर बोलाउन थाले । अहिले पनि त्यसरी नै बोलाउँदै आएको छु । केपी अङ्कलले केटाकेटीलाई असाध्यै माया गर्ने, नजिक बोलाउने र केही न केही दिने, भोक लागेको, नलागेको बारेमा सोध्ने गर्नुहुन्थ्यो ।

एक दिन एक बिहानै ‘बाबु, तिम्रो लगाएको कपडा मैलो भएछ, ल्याऊ म धोइदिन्छु ।’ एउटा आवाज मेरो कानमा सुनियो, म फर्केर हेर, त्यसो भन्ने अरू कोही नभएर राधिका अन्टी हुनुहुन्थ्यो । मैले दिए उहाँले खुसी भएर धोइदिनुभयो । धेरै पटक मेरो कपडा धोइदिनुभएको छ, राधिका अन्टीले । भर्खरै पहाडबाट गएको एउटा कलिलो केटो, मलाई मेरो कपडा धुन उहाँलाई दिन हुन्छ कि हुन्न भन्ने कुनै हेक्का थिएन । उहाँले कपडा धुने बेला माग्नुहुन्थ्यो । म दिन्थे ।

प्रधानमन्त्री, मन्त्री र कतिपय उच्च पदस्थहरूको श्रीमतीका चर्चा/परिचर्चा सार्वजनिक बहसको विषय बन्दा म राधिका शाक्यलाई सम्झन्छु । झन्डै २७ वर्षअघिका केही परिदृश्य अहिले पनि मेरो स्मरणमा आइरहन्छ । लेख्नै मन लाग्यो ‘एउटा सादा जीवनशैली, न घमण्ड, नत मन्त्रीको पत्नी हुँ भन्ने रवाफ !’ दिउँसोमा राष्ट्र बैङ्कमा कार्यरत राधिका अन्टी सधैँ आफ्नो र परिवारको कपडा आफैँ धुनुहुन्थ्यो, घर सरसफाइ गर्नुहुन्थ्यो, किचनमा काम गर्नुहुन्थ्यो, आउने पाहुनाहरूलाई आफैँले चिया र खाना खुवाउनुहुन्थ्यो ।

जति बेला एमालेको अल्पमतको सरकार (२०५१) मा केपी ओली शर्मा गृहमन्त्री हुनुहुन्थ्यो, त्यो समय र त्यसपछिका पनि झन्डै एक वर्ष मलै राधिका शाक्यलाई राम्रोसँग चिन्ने र बुझ्ने अवसर पाएँ । मैले दुई महिना भद्रकालीमा टाइपराइटर सिकेपछि अलि अलि मन्त्री क्वाटरमा टाइपराइटरमा आउने काम सहयोग गर्थे, त्यति बेला कम्प्युटर थिएन । फुर्सद हुँदा किचनमा पनि सघाउँथेँ ।

मैले उहाँलाई जति बेला चिनेँ, बुझेँ र जानेँ अहिले पनि उहाँमा नजिकबाट भेट्ने अवसर नपाए पनि उस्तै लाग्छ । एउटा राष्ट्रको नेता, प्रमुख पार्टीको अध्यक्ष पूर्व प्रधानमन्त्रीको पत्नी राधिका शाक्यसँग गत वैशाख २ गते लमजुङको घले गाउँलाई सुखी गाउँ घोषणापछि बेसीशहरमा आयोजित एक कार्यक्रममा भेट्दा पनि उस्तै पाए । एउटा सञ्चारकर्मीका नाताले म तस्बिर लिइरहेको थिए ।

राधिकातिर फर्कँदै केपी शर्मा ओलीले मतिर देखाउँदै भन्नुभयो ‘ऊ हाम्रो भतिज कृष्ण होइन ? राधिका अन्टीले मुस्कुराउँदै मुन्टो हल्लाउनुभयो । बाहिर आउनुभयो, कुराकानी भयो । सन्चो, बिसन्चो सोध्नुभयो । तस्बिर खिच्ने अवसर मिल्यो, २७ वर्षअघि भेटेको राधिका अन्टी अहिले पनि उस्तै लाग्यो । उहाँको जीवनशैली, सरलता र मिठासपूर्ण व्यवहारले यतिका वर्षपछि यति कुरा लेख्न मन लाग्यो । केही वर्षअघि एक पटक बालकोटमा भेटको थिएँ । त्यो भिडभाडमा भेटेको उहाँले सम्झनुभयो कि भएन, भन्नुभयो‘ तिमी त कहिले पनि आउँदैनौ ।’

नौ महिने सरकारमा उहाँ गृहमन्त्रीको श्रीमतीका रूपमा होस् वा त्यसपछि ललितपुर महापालस्थित उहाँको भाइ ज्ञानेन्द्र शाक्यको घरमा डेरा सरेपछि नै किन नहोस्, उहाँमा कुनै फरक पाइएन । न मन्त्रीको श्रीमती हुँदा कुनै घमण्ड थियो, न त मन्त्री क्वार्टरबाट बाहिरिँदा दुःखी हुनै हुनुहुन्थ्यो । त्यति बेला पनि केपी शर्मा ओली (म अङ्कल भन्छु) स्वास्थ्यमा समस्या आइरहन्थ्यो, उहाँले गरेको सेवालाई मैलै नजिकबाट नियाल्ने मौका पाएको छु । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीसहित तत्कालीन गृहमन्त्री केपी शर्मा ओली हेलिकप्टर दुर्घटनामा पर्नुभएपछि काठमाडौँ आएर शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको थियो ।

राधिका अन्टीसँगै हामी उहाँलाई लिन एयरपोर्ट पुगेका थियौँ । धेरैले दुर्घटनाको खबरपछि आस मारेका थिए । अहिले जस्तो सामाजिक सञ्जाल थिएन, खबर ढिलो आउँथ्यो, जब हेलिकोप्टरबाट उहाँ हाँस्दै झर्नुभयो, हामीमा खुसीको सीमा रहेन । त्यसपछि उहाँ शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभयो, केही दिन मैले अस्पतालमा बसेर सेवा गर्ने अवसर पाए । त्यति बेला उहाँको पान खाने बानी थियो । म पान लिन जान्थेँ तर राधिका अन्टी अस्पताल आउँदा भने त्यो कुरा गोप्य नै राखिन्थ्यो । अङ्कलको स्वास्थ्यका कारण राधिका अन्टीले पान खाएको मन नपराउने तर अङ्कललाई खानुपर्ने ।

राधिका अन्टी सत्ता र शक्तिको आडमा कहिल्यै चर्चामा आउनुभएन । परोपकार र सेवा उहाँमा पर्यायवाची जस्तै लाग्छ । नेताहरूको श्रीमती सांसद बनिरहँदा उहाँमा त्यो चाहना रहेको देखिएन । आफ्नो सम्पूर्ण जीवन र सम्पत्ति राष्ट्रको नाममा समर्पण गर्नुभएका राजनेता केपी शर्मा ओलीको धर्मपत्नी हुनु मात्र उहाँको परिचय होइन जस्तो लाग्छ ।

सत्ता र शक्तिको भोक र उन्माद कस्तो हुन्छ भन्ने थाहा पाउन केही प्रतिनिधि पात्रहरूलाई हेरे हुन्छ । जसले सत्ता र शक्तिको नशामा लट्ठ भएर कहिल्यै नमेटिने बदनामहरू बोकेर हिँडिरहेका छन् । आफैँ प्रधानमन्त्री र मन्त्री भए जसरी सत्ता र शक्ति चलाइरहेका छन् । त्यो सम्पूर्ण चक्रबाट बाहिर हुनुहुन्छ राधिका अन्टी, जसले सत्ता र शक्तिको केन्द्रमा रहेर पनि आफूलाई विवादको घेराभित्र कहिल्यै पर्नुभएन ।

श्री सगरमाथा दैनिकबाट सुरु भएको पत्रकारिताको यात्रा लमजुङमै रहेर काम गरेको पनि ३० वर्ष हुन लागेछ तर ती स्मरणले अझै पनि घचघच्याई रहन्छ । भन्छ‘ नेताको श्रीमती हुनु त राधिका अन्टी जस्तो हुनु ।