जनता टाइम्स

२६ फाल्गुन २०७९, शुक्रबार १७:०५

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा ओएनएफको बिशेष बहश : भगवती–सोबितादेखि सुनिता डंगोलसम्मका आधा दर्जन महिला नेतृले सुनाए तितो अनुभव


अष्ट्रिया, फागुन २६ । प्रवासी नेपालीको समस्या समाधानका लागि क्रियाशिल नेकपा एमाले निकट संगठन प्रवासी नेपाली मञ्च, अष्ट्रियाले ११३ औं अन्तराष्ट्रिय महिला दिवसमा बिशेष कार्यक्रम आयोजना गरेको छ ।

महिला दिवसको अवसरमा जूममार्फत निवर्तमान महिला, वालवालिका तथा जेष्ठ नागरिकमन्त्री एवं एमाले पोलिटब्यूरो सदस्य भगवती चौधरीको प्रमुख आतिथ्यतामा मञ्ले ‘एक सार्थक वहस कार्यक्रम’ को आयोजना गरेको हो ।

‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ शुरु भएको कार्यक्रममा रास्वापाकी नेतृ एवं सांसद सोविता गौतम, लिली थापा, पूर्वसांसद कोमल वली, प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटी अध्यक्ष संजय थापा र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललगायतका वक्ताहरूले आफ्नो अनुभव सुनाउनु भएको थियो ।

पहिलो वक्ताको रूपमा आउनु आएका प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले आफूले प्राप्त गरेको विषय “पुरुषको नजरमा प्रावासी जीवन तथा सामाजिक अभियानमा महिला सहभागिता“ बिषयमा बोल्दै महिलालाई आफ्नो संगठनमा समेत सदैव अवसर दिएको भन्दै राज्यले समेत महिलालाई अगाडि बढाउन प्रोत्साहन गर्दै सबै स्थानमा समावेशीताको आधारमा अवसर दिनुपर्ने बताउनु भयो ।

सन २०३० सम्ममा सबैखाले महिला हिंसा उन्मुलन गर्ने लक्ष्य संयुक्त राष्ट्र संघले लिएको बताउँदै अध्यक्ष थापाले लैङ्गिक समानताले समुदायको विकासमा टेवा दिने बताउनु भयो । प्रवासमा आएपछि महिलामाथि हुने हिंसाहरु कम भएको, प्रवासमा रहँदा सुरुमा रोजगारी र आवास, यातायातको समस्या हुने गरेको तथा भाषा मूख्य समस्या भएको, सांस्कृतिक भिन्नताहरुले महिलाहरुलाई बढी समस्यामा पारेको अनुभव पनि उहाँले सुनाउनु भयो ।

थापाले यस्ता समस्याको वावजुद पनि नेपाली महिलाहरुले प्रवासमा उन्नति, प्रगति गरिरहेको तर, कति महिला कस्ता काममा छन ? उनीहरुको अवस्था कस्तो छ ? सत्य तथ्यसहितको विवरण भने आधिकारिक संस्था सँग नभएको जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामाजिक रूपान्तरणमा युवाको भूमिका विषयमा बोल्दै “सामाज तब रूपान्तरित हुन्छ, जब परिवर्तनले दिगो रुप लिन्छ“ भन्नुभयो । सामाजिक रुपान्तरण हुन आर्थिक, सामाजिक, राजनीतिक, वातावरणीय सँगै बहुआयामिक परिवर्तन हुन आवश्यक रहेको बताउँदै, उहाँले समाजको रूपान्तरणमा युवा पुस्ताको अहम भूमिका हुने बताउनु भयो ।

‘व्यवस्थामा भएको परिवर्तनले मात्र रूपान्तरण सम्भव हुन्न, जबसम्म परिवर्तित ब्यवस्थाको समाजमा कार्यान्वयन हुन्न,’ डंगोलको भनाई थियो । पछिल्लो समय नेपाली युवाहरुमा तत्काल नै सामाजिक रुपान्तरण हुनुपर्ने सोचको विकास भएको उहाँले बताउनु भयो । रुपान्तरण एकैपटक आउन नसक्ने र यो क्रमै सँग विकसित हुने उपमेयर डंगोलको भनाई थियो ।

कार्यक्रममा सांसद सोबिता गौतमले तेस्रो वक्ताको रूपमा आफ्नो धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘सांसद भएको ३ महिनामा संसदीय अभ्यासमा खासै नयाँ र नौलो अनुभव हासिल गर्न सकेकी छैन ।’ महिलाको लागि राजनीतिक यात्रा कति सहज ? कति जटिल ? भन्ने विषयमा प्रकाश पार्दै युवा सांसद गौतमले नेपालमा मात्र होइन, विश्वमै महिलालाई राजनीतिमा नरुचाइएको अनुभूति सुनाउनु भयो ।

पछिल्लो समय राजनीतिमा महिलाहरुको सहभागिता बढेपनि निर्णायक तहमा महिला हरूको पहुँच अझै नभएको उहाँको भनाई छ । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट गत निर्वाचनमा मात्र ९ जना महिला निर्वाचित भएर आउनु दुखःदायी भएको बताउँदै उहाँले वैचारिक संस्थाहरूले महिलालाई प्राथमिकतामा नराखेको आरोप लगाउनु भयो ।

महिलाहरुको सहभागितालाई जनताले पत्याए पनि राजनीतिक दलका नेताहरुले पत्याउन नसकेको भन्दै उहाँले थप्नुभयो, ‘महिलालाई निर्णायक तहमा राख्न दलहरु डराईरहेको छन । महिलाहरुको सहभागिता राजनीतिमा अर्थपूर्ण हुनुपर्छ ।’ अवसर पाए पुरुष सरह बराबर काम गर्न नेपालका महिला सक्षम छन भन्दै सांसद गौतमले आफ्नो तर्क राख्नुभयो ।

रााष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीले राजनीतिमा महिला एक सिंहावलोकन विषयमा बोल्दै पुरुषहरुले नै विभेद र हिंसा रहित समाज निर्माणमा भूमिका निर्वाह गर्नुपर्ने र त्यसका लागि आफ्नो घरबाटै सुरु गर्नुपर्ने बताउनु भयो । उहाँले २०७२ सालको संविधानमा महिला र पुरुषवीचको असमानता हटाउन धेरै विषयहरु समेटिए पनि व्यवहारमा लागू भइनसकेको बताउनु भयो । अवसर पाए महिलाहरुले पुरुष सरह काम गर्न सक्छन भन्ने प्रमाणित भइसकेको चर्चा गर्दै वलीले राजनीतिमा अवसर दिनुपर्ने बताउनु भयो ।

चौथो वक्ताको रूपमा राजनीतिमा महिला एक सिंहावलोकन भन्ने विषयमा बोल्दै वलीले प्रकृति र पुरुषलाई समेटेरसँगै हिंडाउन सके मात्र सामाजको सर्वाङ्गिन विकास हुन्छ भन्दै पुरुषहरुले नै विभेद र हिंसारहित समाज निर्माणमा अहम भूमिका निर्वाह गर्नुपर्ने र त्यसका लागि आफ्नो घरबाटै सुरु गर्नुपर्ने बताउनु भयो । २०७२ सालको संविधानमा महिला र पुरुषवीचको असमानता हटाउन धेरै विषयहरु समेटिए पनि व्यवहारमा लागू भइनसकेको बताउनु भयो ।

अवसर पाए महिलाहरुले पुरुष सरह काम गर्न सक्छन भन्ने प्रमाणित भइसकेको चर्चा गर्दै वलीले भन्नुभयो, ‘नेपाली समाजमा महिलाको सहभागिता बढे पनि आर्थिक रूपमा सम्पन्नता नभएको कारण महिलाहरूको क्षमता पूर्णरूपमा विकास हुन सकेको छैन ।’ महिलाको क्षमता पूर्णरूपमा विकास गर्नको निम्ति कम्तिमा नेपाली समाजले राजनीतिमा पुरुष सरह समान अवसर दिनुपर्ने वलीको निचोड छ ।

पाँचौं वक्ता राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले “विगतदेखि वर्तमान : महिला आन्दोलनलाई फर्केर हेर्दा’ भन्ने विषयमा आफ्नो धारणा राख्नुभयो । सो अवसरमा बोल्दै वैदिक दर्शनमा गार्गी जस्ता विदुषीहरूले निभेको भूमिकाको चर्चा उहाँले गर्नुभयो । नेपालको राजनीतिक इतिहासमा परिवर्तनका पक्षमा महिलाहरुले ठूलो योगदान दिएको तर समाज, राजनीतिक परिवर्तन र महिला मुक्ति आन्दोलनमा विगतमा महिला अग्रजहरुले गरेको कामको अभिलेख समेत नभएको बताउनु भयो ।

‘नेपाली महिलाहरु हरेक क्षेत्रमा सवल र सफल रहेको तथा पछिल्लो संविधानले महिलाका अधिकारलाई मौलिक अधिकारका रुपमा लिपिबद्ध गरेपनि अझै कार्यान्वयनमा चुनौति रहेको छ,’ उहाँले भन्नुभयो । समानताका सन्दर्भमा नेपालको कानुन विश्वका कानुन हरूका तुलनामा उत्कृष्ट रहेपनि कार्यान्वयनमा समस्या रहेकाले अब नीति निर्माण तहमा भएका व्यक्तिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने तर्क उहाँको थियो । विगत १० वर्षमा १७ हजार ७ सय ९० जना नेपाली महिला बालात्कृत हुनुपरेको प्रतिवेदन औल्याउँदै हिंसा, बलात्कार जस्ता महिला हिंसाका घटनामा फैसला कार्यान्वयनमा ठूलो खाडल भएको उहाँको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएकी पूर्वमन्त्री एवं सांसद भगबती चौधरीले लैङ्गिक समानताका सवालमा महिलाको पहुँच पुर्याउन संविधानमै उल्लेख भएपनि कार्यान्वयन चरणमा सकस रहेको बताउनु भयो । राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा महिला सहभागिता बढाएर पहुँच स्थापित गर्नुपर्ने बताउँदै उहाँले नेपालको नयाँ संविधानमा धेरै विषय समावेश भए पनि यसको कार्यान्वयनमा चुनौति देखिएको बताउनु भयो ।

निजामती कर्मचारी सेवा, शिक्षा, स्वास्थ्य, वित्तीय क्षेत्रमा महिलाको सहभागिता बढाउन सबै क्षेत्र लाग्नु पर्नेमा जोड दिँदै चौधरीले भन्नुभयो, ‘नीति बनिसकेको छ तर, त्यसलाई कार्यान्वयन तहमा ठूलो समस्या छ । अब त्यसलाई हल गर्न हामीहरु लाग्नुपर्छ ।’ राज्यले पञ्चवर्षीय योजनामा गरिब, विपन्न नागरिकलाई उत्थान गर्न निश्चित प्रतिशत बजेट लगानी गर्नुपर्ने बताउँदै नेपालमा २५ देखि ३० प्रतिशत जनता गरिबीको रेखामुनी रहेकाले त्यहाँ महिला बढी हिंसामा परेको बताउनु भयो ।

चौधरीले महिलाहरुलाई जबसम्म निर्णायक तहमा पुर्याउन सकिन्न तवसम्म विभेदहरु भइरहने पनि बताउनु भयो । राजनीतिक तहमा संविधान अनुसार ३३ प्रतिशत महिला पुर्याउन मासबेसबाटै भएपनि महिलाहरु ल्याएर अगाडि बढाउनु पर्ने सुझाव पनि उहाँको थियो ।

प्रवासी नेपाली मञ्च अष्ट्रियाले ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको वेविनारमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरूको उपस्थितिको साथमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका पदाधिकारी, प्रचार प्रकाशन विभाग प्रमुख चानक पोखरेल, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. बद्रि केसीसमेतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा उपस्थित व्यक्तित्वमध्येबाट यास्मिन वेगम, राधिका गुरुङ्ग, गोमा उप्रेती, बद्री केसी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रम प्रवासी नेपाली मञ्च अष्ट्रिया कि सचिव बाबा राजेश्वरी थापाले संचालन गर्नुभएको प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलले जानकारी दिनुभयो ।