जनता टाइम्स

२५ चैत्र २०७९, शनिबार ०७:२४

धुलिखेललाई ‘स्वस्थ सहर’मा सूचीकृत गर्न पहल


काभ्रेपलाञ्चोक, २५ चैत । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई देशकै पहिलो ‘स्वस्थ सहर’मा सूचीकृत गर्न पहल सुरु गरिएको छ।

सरकारले लिएको दिगो विकास लक्ष्यका १७ वटा सूचकमध्ये गरिबी निवारण, गुणस्तरीय शिक्षा, गुणस्तरीय खानेपानी र शून्य कार्बन उत्सर्जन गरी चारवटा लक्ष्य पूरा गरेको धुलिखेल नगरपालिकाले नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्न विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०मा पहल गरेको हो।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले धुलिखेललाई नेपालकै पहिलो स्वस्थ सहर बनाउने अभियानमा नगरपालिका लागेको बताउनुभयो। उहाँले नगरपालिकाले नगरभित्र गरेका स्वास्थ्यसम्बन्धी कार्यक्रमका आधारमा नगरपालिकालाई स्वस्थ सहर घोषणा गर्न विश्व स्वास्थ्य सङ्गठनमा पहल गरिएको बताउनुभयो।

“नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर धुलिखेल अस्पतालसँग सहकार्य गरेर नगरभित्रका नागरिकको स्वास्थ्यको अवस्थाको तथ्याङ्क लिने, पोषणयुक्त नगरपालिका घोषणा गर्ने, क्षयरोगमुक्त सहर बनाउने अभियानमा लागेका छौँ,” केसीले भन्नुभयो। उहाँले नगरपालिकालाई स्वस्थ सहर बनाउन विगत दुई वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

“स्वस्थ्य सहरमा सूचीकृत गर्नका लागि हामीले डब्लूएचओमा पहल गरेका छौँ, हामीले गरेका काम तथा त्यसलाई प्रमाणित गर्ने कागजात पूरा भएको खण्डमा सन् २०२३ को डिसेम्बरसम्म स्वस्थ सहर घोषणा हुने जानकारी प्राप्त गरेका छौँ,” स्वास्थ्य शाखा प्रमुख केसीले थप्नुभयो।

उहाँले स्वस्थ सहर घोषणाका लागि डब्लूएचओले नगरबासीको खोपमा पहुँच, नागरिकको पोषणको अवस्था, स्वास्थ्य सेवामा नागरिकको पहुँच, नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेका कामलगायतका विषयलाई प्राथमिकता दिने बताउनुभयो।

धुलिखेल नगरपालिकाले स्वस्थ सहर निर्माणका लागि नगरपालिकाले सन् २०२१ सेप्टेम्बरदेखि २०२१ नोभेम्बरसम्म स्वास्थ्य गणनाको घरधुरी सर्वेक्षण गरेको थियो। उक्त तथ्याङ्कको प्रारम्भिक नतिजाले नगरभित्र रहेको कुल जनसङ्ख्याको ३६ दशमलव २ प्रतिशत नागरिक दीर्घरोगी रहेको सर्वेक्षणले देखाएको थियो। नगरभित्रका ८६ प्रतिशत घरधुरीमा गुणस्तरीय खानेपानीको प्रयोग, नगरभित्रका ७२ प्रतिशत नागरिक स्वास्थ्य बिमामा संलग्न भएको, सबै वडामा स्वास्थ्य चौकी स्थापना गरी स्वास्थ्य सेवा प्रदान गरेको छ। स्वस्थ सहर बनाउनका लागि नगरपालिकाले नगर क्षेत्रभित्रबाट निस्कने फोहोर पानी प्रशोधनका लागि पानी शुद्धीकरण गर्ने ट्रिटमेन्ट प्लान्ट निर्माणलगायतको काम गर्दै आएको नगरपालिकाले जनाएको छ। गोखापत्रबाट