काठमाडौँ, २४ वैशाख । नेपालमा दूध पर्याप्त हुँदाहुँदै राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध आयात गर्न गरेको सिफारिसप्रति किसानले आपत्ति जनाएका छन् ।
डेरी उद्योगीहरूले नेपालमा दूध अभाव रहेको भन्दै भारतबाट आयात गर्नुपर्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति मागेका छन् । सो अनुमतिका लागि उद्योगीले बोर्डलाई पनि आग्रह गरेको छ । सो आग्रहका आधारमा बोर्डले आवश्यकताअनुसार दूध आयातका लागि मन्त्रालयलाई सिफारिस गरेको छ ।
सो सिफारिसपछि किसानका सङ्घसंस्थाले विरोध गरेका छन् । केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालले कृषि मन्त्रालय तथा बोर्डलाई पत्र नै पठाएर दूध आयात गर्ने आवश्यकता नरहेको जानकारी गराएको छ । नेपालमै दूध पर्याप्त छ, डेरी उद्योगीले नेपाली किसानको दूध खरिद नगरी आफ्नो नाफाका लागि भारतबाट आयात गर्न चाहेको भन्दै कृषि मन्त्रालयलाई दूध आयात खुला नगराउन सुझाव दिएको छ ।
सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले आफूहरूसँग दूधको अभाव छैन, डेरी उद्योगीले जानी जानी दूधको अभाव देखाएर नाफा कमाउने उद्देश्यले भारतबाट दूध ल्याउन चाहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामी किसानसँग जति पनि दूध छ तर त्यो लिनका लागि आउनु प¥यो, चितवन, काभ्रे, पोखरालगायतको ठाउँमा मात्र दूध खोजेर पाइँदैन, किसानको घरघर गएर दूध सङ्कलन गरेजति पनि दूध छन् ।”
दूधको अभाव छैन भन्दाभन्दै राष्ट्रिय दुग्ध विकास बोर्डले मन्त्रालयलाई भारतबाट आयात गर्नुपर्ने भनी सिफारिस गर्नु आपत्तिजनक कार्य हो र यसका बारेमा बैठक बसेर थप निर्णय लिने उहाँले बताउनुभयो ।
चितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले पनि सरकारले कुनै अध्ययन नै नगरी भारतबाट दूध ल्याउन लागेको आरोप लगाउनुभयो । बोर्डले एक लाख २० हजार लिटर दूध दैनिक भारतबाट आयात गर्नुपर्ने भनी सिफारिस गरिएको बुझ्नमा आएको छ, त्यो किसानमारा काम भएको बताउँदै उहाँले नेपाली किसानले दूध दिन तयार छ, सरकारले त्यसको व्यवस्थामा लाग्नुको सट्टा भारतबाट आयात गर्न खोज्नु गैरजिम्मेवारी कार्य भएको बताउनुभयो ।
चितवन मिल्क उद्योग र पोखराको सुजल मिल्कसँग पर्याप्त धुलो दूध छ, डेरी उद्योगीले उठाउनै चाहेका छैनन् र उता भारतबाट आयात गर्न खोज्नु उनीहरूको नियत ठिक नरहेको आरोप लगाउँदै अध्यक्ष बगालेले डेरी उद्योगीहरूले दूध सङ्कलन गरी धुलो दूध बनाई लुकाएर राखेका छन्, पछि अभाव देखाउँदै किसानको दूध खरिद नगरी धुलो दूध महँगोमा बेच्नका लागि यी सबै गरेको आरोप लगाउनुभयो ।
यदि दूधको अभाव छ भने उत्पादन कसरी बढाउने, दुर्गम क्षेत्रमा रहेको दूध बजारसम्म कसरी पु(याउनेजस्ता कार्य छाडेर सरकारले पनि दूध आयातका लागि तयार अवस्था रहेको किसानका लागि पीडादायी कार्य भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुग्ध विकास संस्थान ९डीडीसी०ले सहकारीलाई समयमै भुक्तानी नगरेको किसानले उसलाई दूध दिन मानेको छैन, त्यसैले उसलाई दूधको अभाव खड्किएको हो । किसानले आफ्ना दूध अनौपचारिक क्षेत्रमा बढी खपत गर्न थालेका छन् । समयमा भुक्तानी नदिँदा किसान अन्यत्र जान थालेका छन् ।”
चितवनमा मात्र दैनिक साढे तीन लाख लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये साढे दुई लाख लिटर दूध जिल्लाबाहिर जाने गरेका छन् । किसानले चार फ्याट र आठ एफएनएस भएको दूधलाई प्रतिलिटर ६५ रुपियाँमा बेच्दै आएका छन् । गोरखापत्रबाट













प्रतिक्रिया दिनुहोस्