काठमाडौँ, २६ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा सोमबार भएको भेटवार्तामा चीन–नेपालबीच ऐतिहासिक सम्बन्धबारे कुराकानी भएको थियो ।
भेटवार्ताका क्रममा गृहमन्त्री श्रेष्ठले चीनसँग नेपालको कुनै विवाद नरहेको प्रसङ्ग उल्लेख गर्दै नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनका लागि समेत सम्बन्धित निकायसँग आग्रह गर्ने उल्लेख गर्दै दुई देशको सीमा जोडिएका जिल्लामा समकक्षी बैठक निरन्तर हुनुपर्ने बताउनुभयो ।
उहाँले दुई देशको अन्तर्राष्ट्रिय सीमामा कार्यरत दुई देशका पदाधिकारीको सम्पर्क र समन्वय सघन बनाउनुपर्ने बताउनुभयो । सीमा क्षेत्रमा रहेका प्रमुख जिल्ला अधिकारीले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई ‘पास’ प्रदान गर्ने गरेको र उक्त व्यवस्थाले सीमा क्षेत्रका बासिन्दाको दैनिक जीवन सहज बनाएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त व्यवस्था पुनः सुचारु गर्न पहल गरिदिन आग्रह गर्नुभयो ।
तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूर्ण रूपमा सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै उहाँले थप नाका पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन राजदूत सङलाई आग्रह गर्नुभयो । बझाङको साइपल, दार्चुलाको तिन्कर, गोरखाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ पहल गर्न पनि उहाँको आग्रह गर्नुभयो ।
जवाफमा चिनियाँ राजदूत सङले आफूले त्यसको पहल गर्ने विश्वास दिलाउनुभयो । सीमा क्षेत्रका पदाधिकारीको सम्पर्क सघन बनाउने र समकक्षी बैठक गरिरहनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको रायमा आफू पनि सहमत रहेको उहाँको भनाइ थियो ।
राजदूत सङले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिँदै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछि भएका उच्चस्तरीय भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको बताउनुभयो ।
नेपाली भूमिलाई चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिन र नेपालमा रहेका चिनियाँ लगानी र सम्पत्तिको सुरक्षामा नेपालको गृह प्रशासनले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै राजदूत सङले यसको निरन्तरताको अपेक्षा गरेको उल्लेख गर्नुभयो ।
चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका व्रmममा भएको पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनमा आवश्यक समन्वय गरिदिन सङले आग्रह गर्नुभयो । चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको २१ वटा ड्रोन छिट्टै नेपाललाई हस्तान्तरण गर्नेसमेत उहाँले बताउनुभयो । गोरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्