जनता टाइम्स

११ जेष्ठ २०८०, बिहीबार १७:१०

रुकुम पश्चिममा जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो


रुकुम पश्चिम, ११ जेठ । बिहीबार बिहान रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा भएको जिप दुर्घटना मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । प्रहरीका अनुसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका–५ का ४८ वर्षीय देउचन खत्री, सोही वडाका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका ८ की २२ वर्षीया रेखा केसी खनाल र उहाँको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी, दुर्घटनामा परेर सानीभेरी गाउँपालिका–५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाइएको छ ।

चार जना गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार

दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लिइएको छ । उनीहरूलाई हेलिकोप्टरमार्फत कोहलपुर लगिएको प्रहरीले जनाएको छ । हेलिकोप्टरमार्फत उद्धार गरिएकाहरूमा सानीभेरी गाउँपालिका–५ का ४० वर्षीय प्रेम बाँठा मगर, सोही वडाका २२ वर्षीय ललित बाँठा मगर, २ वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसी रहनुभएको छ ।

अन्य घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । अन्य घाइते सानीभेरी गाउँपालिका ५ का ४६ वर्षीय कर्णवीर पुन, सोही वडाकी १७ वर्षीया मनीषा बस्नेत, १७ वर्षीया रिता खत्री, २१ वर्षीया कल्पना केसी, ४६ वर्षीय गम्भीर कुसारी र ३५ वर्षीय दीपक बाँठा मगर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालक दीपक बाठाको खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट रहेको छ भने अवस्था गम्भीर रहेको छ ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर खत्रीले दिनुभएको जानकारी अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ हाँसुदेखि दुलीहुँदै जिल्ला सदरमुकाम खलङगा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोचेखोलामा दुर्घटना भएको हो । जिप अनियन्त्रित भए दुर्घटना भएको बताइएको छ । जिप पूर्णरुपमा क्षतिग्रस्त अवस्थामा रहेको छ ।