जनता टाइम्स

१२ जेष्ठ २०८०, शुक्रबार ०९:०३

बस्नलाई बास, खानलाई आस मात्रै हुँदा विपदको सारथी बन्यो रेडक्रस


रितु खड्का पाल/कञ्चनपुर । एक स्वयमसेवी तटस्थ संस्था । जहाँ विशुुद्ध स्वयम् सेवा गरिन्छ र पीडामा परेका व्यक्तिहरूका मनमा मलम लगाउने काम गरिन्छ । पारिपट्टिको गाउँमा बस्ती नै आगोले सखाप हुँदा, औलतिरका बस्तीमा बाढी पस्दा, खर्कका गाउँहरुमा पहिरो जाँदा, भूकम्पले लेकका बस्तीहरु ढल्दा, तिम्रो गाउँमा झाडापखालाले सताउँदा, रातदिन नभनी सेवा पुर्याउने संस्था हो रेडक्रस । पल्ला घरकी भाउजुलाई सुत्केरी व्यथा लाग्दा कहिँकतै रगत नपाएर छटपटाएको अवस्थामा एक एक थोपा रगत सङ्कलन गरेर अमूल्य जीवन दिने पनि रेडक्रस ।

कोरोना कहरको बेला कस्तो किसिमको रोग आयो भनेर हाम्रो समाजमा अन्यौलता छाउँदा, हामी सबै आत्तिँदा विभिन्न किसिमका जनचेतना फैलाउने पनि रेडक्रस नै हो । रोदनपछिको मुस्कान ल्याउने क्रममा नेपाल रेडक्रस सोसाइटीले २०७९ कार्तिक २३ को भुकम्प पछि डोटी, अछाम र बझाङ्ग जिल्लामा ३३३ वटा अस्थायी घर टहरा निर्माण गरेपछि पीडितहरुका लागि बरदान बन्यो । पटक–पटकको भुकम्पले थिलोथिलो भएका मनहरु जोडिए । भुकम्पले बस्न नसकिने गरि चर्किएका घर परिवारका लागि स्थानीय स्रोत साधनको प्रयोग गरि काठ,बास ट्रसका अस्थायी टहरा निर्माण गरिदियो ।

डोटीको पूर्वीचौकी गाउँपालिकाका सबै वडामा २३३, अछामको मंगलसेन, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा जम्मा ५० र बझाङ्गको थलारा र खप्तडछन्ना गाउँपालिकामा जम्मा ५० अस्थायी टहरा निर्माण भए । ती अस्थायी टहरामा भुकम्प प्रभावितहरु बसिरहेका छन् । भुकम्पले घरमा क्षति पुर्याएपछि बस्दै आएको घर छोडेर खुला आकाशमुनि पाल टाँगेर बस्ने व्यवस्थादेखि अस्थायी टहरा निर्माण गरेर नागरिकलाई उक्त अस्थायी टहरामा बस्ने व्यवस्था गरिदिएको छ । आउदै गरेको बर्षायाममा टहराभित्र बस्न पाउँदा प्रभावितहरु खुसी छन् ।

डोटीका सहायक प्रमूख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार भुकम्प प्रभावित पूर्वीचौकी गाउँपालिकाको गैरागाउँका बस्तीमा रेडक्रसद्वारा निर्मित अस्थायी आवास र त्यसको उपयोगको अवस्था हेर्दा खुसी लाग्छ । प्रभावितहरुको प्रतिक्रिया र उनीहरुको खुसी देख्दा रेडक्रसको योगदान अतुलनिय देखिन्छ । अब सरकारी तथा गैरसरकारी सबै क्षेत्रको समन्वय तथा सहकार्यमा बलियो र भुकम्प प्रतिरोधी घर पुननिर्माणका लागि पहल आवश्यक छ । यसरी घरहरु निर्माण गर्न सकियो भने भुकम्प प्रभावितहरुको मुहारमा थप खुसी छाउने छ ।

रेडक्रसद्वारा सञ्चालित सुदूरपश्यिम भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत डोटी जिल्लाको पूर्विचौकी गाउँपालिमा २३३ वटा अस्थायी टहरा, अछाम जिल्लाको मंगलसेन नगरपालिकामा १० वटा, साफेबगर नगरपालिकामा २० वटा र चौरपाटी गाउँपालिकामा २० वटा गरी ५० वटा अस्थायी टहरा निर्माण भएका छन् भने बझाङ्ग जिल्लामा थलारा गाउँपालिकामा ११ र खप्तडछान्ना गाउँपालिकामा ३९ गरी जम्मा ५० वटा घरटहरा निर्माण भएका छन् । समग्रमा रेडक्रसले ३३३ वटा अस्थायी टहरा निर्माण गरेको छ ।

भुकम्प पीडित परिवारले स्थानीय श्रोत र साधन प्रयोग गरेर सेन्डाइ फ्रेम अनुसार टहरा निर्माण मापदण्डका आधारमा निर्माण गरेका हुन् । निर्माण भएका ३३३ घरधुरीमा शौचालय, हात धुने स्थान समेत बनाउन सहयोग गरेको छ । अस्थायी टहरा, शौचालयसँगै रेडक्रसले तीन वटै जिल्लामा प्रति घरलाई नगद रु.१५ हजार (डोटीमा ४३१, अछाममा १५३ र बझाङ्गमा १४७) सहयोग गरेको छ । दिगोपनालाई मध्यनजर गरि डोटी जिल्लामा फलाम र टिनको प्रयोग गरी केही टहराहरु ट्रसमार्फत बनेका छन् ।

पूर्वीचौकी गाउँपालिका, सानागाउँ निवासी मनसरा खड्का भन्नुहुन्छ, ‘म एकल महिला दैवले पहिले नै श्रीमानलाई खोसिसकेको थियो, त्यसपछि छोरी पनि दैवले खोसेर लग्यो, नातिनी मसँग छ । यतिधेरै पीडा सहँदासहँदै भुकम्पले घर पनि भत्काइ दियो । बस्नलाई बास, खानलाई आसबाहेक केहि थिएन । भगवानलाई गुहार्नुबाहेक मसँग कुनै विकल्प थिएन, त्यही क्रममा रेडक्रस भगवान बनेर मेरो दैलोमा पुग्यो । रेडक्रसले बस्नका लागि बास व्यवस्था गरिदिएको छ । गासका लागि बहुउद्देश्य नगद रु.१५ हजार सहयोग प्रदान गरेको छ, त्यो पैसाले चिया पसल सुरु गर्दैछु ।’ रेडक्रसले ट्रस प्रयोग गरेर दुईकोठा एक भान्छा, शौचालय र हात धुने स्थान बनाइदिएपछि नतिनी र बज्यैसँगै बसिरहेको मनसराले बताउनु भयो।

खडकाले भन्नुभयो, ‘रेडक्रस नै हाम्रो साहारा बन्यो ।’ मनसराजस्तै बासका अस्थायी टहरा पनि आकर्षक तरिकाले निर्माण गरिँदा अहिले स्थानीय पनि खुसी भएका छन् । मनसराको जस्तै मंगलसेन नगरपालिका–४ अछामकी एकल महिला टंकदेवी धामीको घर भुकम्पले बस्न नमिल्ने गरि भत्कियो । आफ्नो घरको साहारा कोही नभएका बेला रेडक्रसले अस्थाइ टहरा बनाइदिएपछि खुशी भएको उहाँले बताउनु भयो ।

टंकदेवीले भन्नुभयो, ‘रेडक्रसले अस्थायी रुपमा भए पनि राम्रो बस्ने घर निर्माण गरिदिएपछि आफुलाई निकै सहज भएको छ । हामीलाई सरकारले केही सहयोग नगरेका बेला हाम्रो साहारा रेडक्रस बनेको छ । कोही नहुनेको दैव हुन्छ भन्थे, हाम्रा लागि रेडक्रस साँच्चिकै दैव बनेर आएको छ । भगवानले हाम्रो पीडा देखेरै मल्हम लगाउनका लागि रेडक्रसलाई पठाउनुभएछ ।’ पीडामा परेका बेला रेडक्रसले आफूहरुलाई सहयोग गरेर जीवनभर गुण लगाएको पनि टंकदेवीले भन्नुभयो । उहाँले अब स्थानीय सरकारले भुकम्प प्रभावितहरुका लागि घर निर्माण गर्न सहयोग गर्नुपर्ने माग समेत गर्नुभयो।

रेडक्रसले बझाङ्ग जिल्लामा पनि ५० वटा अस्थायी टहरा निर्माण गरेको छ र २८ घरधुरी दलित बादी समुदायलाई रेडक्रसले प्रतिघर रु. १५ हजारका दरले बहु उद्येश्य नगद रकम सहयोग गरेको छ । बादी समुदायका अगुवाहरु भन्छन्, ‘जुन ठाउँमा सरकार र अरु संघसंस्था पनि पुग्न सकेका छैनन्, त्यहाँ रेडक्रस पुगेको छ ।’ महिलाहरुलाई घर खर्च चलाउन, बालबच्चालाई न्यानो लुगा किन्न, गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना, घर मर्मत लगायतका कुरामा सहज होस् भन्ने उद्देश्यले रेडक्रसले बहुउद्येश्य नगद सहयोग गरेको हो ।

यस्ता घटनामा महिला, एकल महिला, गर्भवती तथा सुत्केरी महिला तथा बालबालिकाहरु, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरीक सबैभन्दा बढी प्रभावित हुने भएकाले उनीहरुलाई लक्षित गर्दै बहुउद्देश्यीय नगद सहयोग सञ्चालन गरेको हो । यो रकम सम्बन्धित लाभग्राहीको खातामै पठाउनुपर्ने भएकाले स्वयम् उनीहरुकै बैंक खातामा रकम पठाइएको र यस क्रममा धेरै महिलाहरुको बैंकमा खाता नै नभएकाले धेरैलाई नागरिकता बनाएर खाता समेत खोल्न लगाइएको थियो । यसले गर्दा महिलाहरुलाई अन्य कुरामा पनि फाइदा पुगेको छ ।

यसले संरक्षण, लैंगिक तथा समावेशीकरणको कुरालाई पनि उतिकै जोड दिएको हुँदा यो प्रतिकार्य कार्यक्रम निकै प्रभावकारी देखिन्छ । तर यस्ता कार्यक्रम सञ्चालन गर्दा चुनौती पनि उतिकै थिए । रोजगारीको सिलसिलामा पुरुष भारत गएको हुँदा डोटी पूर्वीचौकी गाउँपालिकाका दुई जना सुत्केरी महिला, साफेबगर नगरपालिका–१२ खप्तडका दुई जना (आमा बुवा दुबैजना रोजागरीको शिलशिलामा भारत गएका) बालक र बझाङ्गमा एक जनालाई सरोकारवालाको रोहबरमा बहुउद्देश्य नगद सहयोग गरिएको थियो ।

उक्त रकमबाट दाल, चाम, नुन र आफ्नो पढाईको लागि आवश्यक सामाग्री खरिद गर्ने, पोषिलो खाना खाने बताएका थिए । रेडक्रसको सहयोगपछि स्थानीय निकै खुसी भएका थिए । नयाँ बर्षको मुखैमा १५ हजार नगद रकम पाएपछि नयाँ बर्षमा लगाउन मिल्ने लुगाफाटो किनमेल गर्न पनि सहज भएको अछामका बालक दिनेश कठायतले बताएका थिए । यतिमात्रै होइन रेडक्रसले भुकम्पका कारण मानसिक तनाव झेलिरहेका ब्यक्तिलाई परामर्शसँगै बालबालिकाका लागि विद्यालयस्तरमा विभिन्न किसिमका बालमैत्री स्थानका लागि सामाग्रीसमेत सहयोग गरेको थियो ।

भुकम्पले बालबालिकामा पर्न गएको मानसिक तनावलाई भुल्न चिप्लेटी, पिङ्ग, बल, कथा किताब, कापी, चित्र बनाउन सामाग्री आदी प्रदान गरेको थियो । यसले गर्दा धेरैजना बालबालिकालाई भुकम्पको कहालीलाग्दो अवस्थालाई भुल्न सहयोग पुगेको विद्यालय तथा भुकम्प प्रभावित स्थानीयले बताए । रेडक्रसले अछाम र बझाङ्ग जिल्लामा प्रतिजिल्ला ५ वटाका दरले जम्मा १० वटा र डोटी जिल्लामा ११ वटा खानेपानीका योजना निर्माण गर्नुका साथै सेनेटरी प्याड डिस्पोजल गर्ने खाल्डाहरु पनि निर्माण गरेको छ । रेडक्रसले स्थानीय सरकारसँग पनि प्रभावकारी ढंगले समन्वय गर्दै यस्ता सामाजिक कार्यहरु गर्दै आएको छ ।

भुकम्प जाना साथ राती नै उद्यारका लागि रेडक्रस पुगिसकेको थियो, भुकम्पले धनजनको क्षति पुर्याएका प्रत्येक पालिकामा गएर पीडित घरपरिवारलाई तत्काल आवश्यक राहात वितरण गरेको थियो भने पीडित घर परिवारका लागि आवश्यक परामर्शसमेत दिएको थियो । रेडक्रसले विगत लामो समयदेखि परोपकारी क्षेत्रमा काम गर्दै आइरहेको छ । जिल्लामा सञ्चालन भएका हरेक सामाजिक अभियानमा रेडक्रसले जिल्ला शाखाहरुमार्फत नेतृत्वदायी भुमिका खेल्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी नायव उपरीक्षक भुवराज भण्डारीका अनुसार रेडक्रसमार्फत निर्मित अस्थाइ टहराको चर्चासँगै सकारात्मक प्रतिक्रिया आएकाले पनि गैरागाउँमा अनुगमन तथा निरिक्षण गरेको बताए । स्थानीय नागरिकसँग समेत अन्तरक्रिया गरिएको थियो । उहाँले भन्नुभएको छ, ‘जे देखियो, त्यही भन्नुपर्छ, भुकम्प प्रभावित व्यक्तिहरुको मुहारमा हाँसो र खुसी देखियो, यस्तो मानविय कार्यका लागि नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

वास्तवमै विपद् र संकटजन्य अवस्थामा सबैले सम्झिने पहिलो संस्था बनेको छ नेपाल रेडक्रस सोसाइटी । ‘विपद्को अवस्थामा आममानिसहरु सुरक्षित अवस्थाको खोजीमा निस्कन्छन्, तर सुरक्षाकर्मी र रेडक्रसकर्मीहरु सुरक्षित स्थलबाट मानव जीवनको रक्षाका लागि आगो, बाढी, पहिरो लगायत असुरक्षित र संकटग्रस्त क्षेत्रमा खट्छन् । मानव जीवन र सम्पत्तिको रक्षाका लागि आफ्नो जीवनको असुरक्षा बिर्सिने त्यस्ता मानवतावादीहरुको जीवन स्वयंमा तीर्थस्थल हो ।

रेडक्रसले जिल्लाका कुनाकन्दरामा पुगेर गरेको सहयोग र उद्वारका कार्यप्रति जति प्रशंसा गरेपछि अपुग हुने देखिन्छ । अफ्ठ्यारो समयमा सम्झने संस्था नै रेडक्रस भएको छ । अझ रेडक्रस मानवतासँग जोडिएको संस्था भएकाले मानवियता विनाको विकास अपूर्ण देखिन्छ । रेडक्रस विपदको सारथी हो । विपद् प्रतिकार्यमा रेडक्रसको अभियान गज्जबको छ । विपद् व्यवस्थापनमा रेडक्रसको भूमिका सह्रानीय छ । उत्थानशिल समुदाय निर्माणका लागि सहयोग, सह–अस्तित्व र सहकार्यलाई प्राथमिकीकरण गर्नु रेडक्रसको थप सबल पक्ष हो ।

रेडक्रसद्वारा सञ्चालित सेवामूलक कार्यहरुले समुदायको उत्थानशीलता प्रवद्र्धनमा ठूलो सहयोग पुगेको छ । रेडक्रसले आफ्नो स्थापनाको कालदेखिनै मानिसको जीवन रक्षा तथा स्वास्थ्य सुरक्षाको लागि समुदाय केन्द्रित कार्यक्रमहरु समुदायमा सञ्चालन गर्दै आएको छ । रेडक्रसले सरकारको प्राथमिकताको क्षेत्रमा काम गरी राष्ट्रिय लक्ष्य प्राप्त गर्न थप सहयोग गर्दै आएको छ । विपद जोखिम न्यूनीकरणका राष्ट्रिय नीति, रणनीति, कार्ययोजना र विपद् जोखिम न्यूनीकरणको मूलप्रवाहीकरणमा पनि रेडक्रसको महत्वपूर्ण भूमिका देखिन्छ ।

रेडक्रस हरेक विपद्को समयमा अग्रपंक्तिमा खटिने संस्था हो । मानविय सेवा नै यसको मुख्य धर्म हो । नीति नियम र मापदण्ड अनुसार निस्वार्थ काम गर्दै आइरहेकोले पनि नागरिकहरुको रेडक्रसप्रति विश्वास बढेको पाइन्छ । समग्रमा भन्नुपर्दा रेडक्रसमा मानवता छ, एकता छ । रेडक्रसकर्मी बन्नु सौभाग्यको कुुरा हो । जहाँ धेरै दुःख र पीडामा रहेका व्यक्तिहरूका लागि सहयोग गर्ने स्थान छ । रेडक्रस एउटा परोपकारी संस्था हो, यहाँ केही लिनका लागि होइन केही दिन र केही गर्ने भावना भएका विश्वभरका नागरिकहरुको साझा चौतारी हो ।