जनता टाइम्स

१६ जेष्ठ २०८०, मंगलवार ०७:०१

सहरी विकासमा दोब्बर वृद्धि


काठमाडौँ, १६ जेठ । आगामी आर्थिक वर्ष २०८०\८१ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट ३६ अर्ब रुपियाँले कटौती गरिएको छ। अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०र८१ को बजेट कार्यक्रममा आगामी वर्षमा सो मन्त्रालयका लागि एक खर्ब ३१ अर्ब ३९ करोड रुपियाँ बजेट विनियोजन गरिएको बताउनुभयो। चालु आर्थिक वर्षमा सो मन्त्रालयका लागि एक खर्ब ६७ अर्ब १८ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो।

सो मन्त्रालयको बजेटमा ठुलो कटौती गरिए पनि सहरी विकास मन्त्रालयको बजेट झन्डै दोब्बरले बढाइएको छ। सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो।

अर्थमन्त्री डा। महतले निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताउँदै त्यसको लागि पाँच अर्ब १३ करोड रुपियाँ विनियोजन गरिएको उल्लेख गर्नुभयो। त्यसैगरी नौबिसे–मुग्लिनखण्डको २५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिका लागि दुई अर्ब १६ करोड रुपियाँ, मुग्लिन–पोखरा सडकखण्डको ५० किलोमिटर सडक विस्तार सम्पन्न गर्न पाँच अर्ब ४२ करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो।

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिने तथा नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गरिने छ। नारायणगढ–बुटवल तथा कमला–कञ्चनपुरखण्डको विस्तार तथा स्तरोन्नति आगामी आर्थिक वर्षमा सम्पन्न गरिने छ र त्यसका लागि राजमार्ग विस्तार गर्न ३१ अर्ब दुई करोड रुपियाँ विनियोजन गरिएको छ। गोरखापत्रबाट