जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार ०६:०१

ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा


काठमाडौँ, २१ जेठ । पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिनुभएको छ।

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनी र पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा त्रिदेशीय ऊर्जा व्यापारसम्बन्धी सम्झौता कोसेढुङ्गा साबित हुने बताउनुभयो। पूर्वराजदूतद्वय प्राडा लोकराज बराल र प्राध्यापक विजयकान्त कर्णले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण राजनीतिक रूपमा विश्वास कायम गरी व्यापारिक सम्बन्धको आधारशिला तयार गर्ने गरी सम्पन्न भएको बताउनुभयो।

उहाँहरूले विद्युत् व्यापारलाई भारत र बङ्गलादेशसम्म लाने गरी भएको सम्झौताले नेपालको समुन्नतिमा नवीन युग प्रारम्भ गर्न सक्ने बताउनुभयो तर यसका लागि नेपालले पनि लगानीको विषयमा बृहत् तयारी गर्नुपर्ने उहाँहरूको भनाइ छ।

भ्रमण सकारात्मक

पूर्वमन्त्रीद्वय डा लोहनी र उपाध्यायले प्रधानमन्त्रीको भ्रमणमा उच्च तहको विश्वास निर्माण भएकाले भ्रमण सकारात्मक भएको बताउनुभयो। पूर्वमन्त्री डा लोहनीले भन्नुभयो, “नेपालले भारतलाई जलविद्युत् उत्पादनका लागि नदीनाला दिनु र भारतीय पक्षबाट पनि नेपाल, भारत र बङ्गलादेशबिच त्रिदेशीय विद्युत् व्यापारको बाटो खोल्ने गरी कुरा आउनु सकारात्मक छ।”

लोहनीले विद्युत् खरिदको विषय चाहिँ अनिर्णित जस्तो देखिएको बताउँदै कसैले सम्झौता भएको र कसैले नभएको भन्ने कुरा आइरहँदा यो विषय प्रस्ट पारेर जानु राम्रो हुने सुझाव दिनुभयो।

पूर्वमन्त्री एवं पूर्वराजदूत उपाध्यायले उच्च तहको भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअघि गरेको तयारीअनुसारै परिणाम आएको प्रतिव्रिmया दिनुभयो। उहाँले प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै सीमासम्बन्धी विषय उठाएको र यी विषय क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “ब्रेकथ्रु होस्। नेपालको बिजुली सस्तोमै किन्ने कुरासँगै १० वर्षमा १० हजार मेगावाट कसरी उत्पादन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ। त्रिदेशीय विद्युत् व्यापारको सन्दर्भमा भूपरिवेष्टित देशको अधिकारको सम्मान गर्दै भारत अघि बढेमा सम्बन्ध नयाँ उचाइमा जान सक्छ।”

उहाँले बङ्गलादेशलाई बिजुली बेच्ने बाटो दिन सहमत भएको १० वर्ष भए पनि भारतको परराष्ट्र मन्त्रालयमा गएर फाइल अड्काउने विषयले चाहिँ समस्या हुने बताउनुभयो। उहाँले यी विषय राजनीतिक नेतृत्वबिच विश्वास निर्माण गरेर समाधान गर्नुपर्ने बताउनुभयो।

विकासमूलक भ्रमण

पूर्वराजदूत प्राडा बरालले प्रधानमन्त्री प्रचण्डको यस पटकको भ्रमण परम्परागतभन्दा अलि फरक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “पहिलेका भ्रमण सीमा, सुरक्षासहित अन्य विषयमै केन्द्रित हुन्थे। कुरा नमिल्ने विषयमै भ्रमणको समय खर्च हुन्थ्यो। प्रधानमन्त्रीले यस पटक विशुद्ध रूपमा विकासलाई ध्यान दिनुभयो। देशको विकासका लागि के चाहिन्छ भन्ने विषयलाई दृष्टिगत गरेर ऊर्जाको बजार विस्तार गर्ने सन्दर्भमा दुरगामी सम्बन्ध बनेको छ।” उहाँले व्यापार घाटा कम गर्ने र पारवहन सन्धि नवीकरणको विषय महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो।

पूर्वराजदूत कर्णले पछिल्लो १५–२० वर्षमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमध्ये प्रधानमन्त्री प्रचण्डको भ्रमण महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले यसअघिका प्रधानमन्त्रीको भ्रमणमा ऊर्जा व्यापारका केही आधार तयार भएको र अहिलेको भ्रमणमा दुरगामी महत्त्वको सम्झौता भएको बताउनुभयो। गोरखापत्रबाट