जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार ०६:३३

भारतले दिने भयो पन्ध्र वटा मुर्रा जातका भैँसी


काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका क्रममा भएको सहमति अनुसार नेपालले १५ वटा मुर्रा जातका भैँसी पाउने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुभएका बेला दुवै पक्षको बिचमा भएको छलफलबाट भारतले नेपाललाई मुर्रा भैँसी दिने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

नेपालस्थित भारतीय दूतावासका अनुसार कृषि तथा पशुपन्छीको क्षेत्रमा दुई देशबिचको सहकार्य अनुरूप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैँसी नेपाल सरकारलाई उपलब्ध गराउन लागेको छ ।

नेपाल र भारतबिच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले दुवै पक्षबिच नानो युरिया र प्राकृतिक खेती जस्ता द्विपक्षीय सहकार्यको नयाँ आयामबारे पनि छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीसँग भारतबाट नेपालतर्फ युरिया र डिएपीको आपूर्तिका लागि भएको समझदारीका बारेमा पनि छलफल गर्नुभयो ।

नेपाल र भारतका किसानलाई आवश्यक मल उपलब्ध गराउने गरी तथा दुवैतर्फ पर्याप्त बजारको सुनिश्चितताका लागि नेपाल र भारतका सार्वजनिक एवं निजी क्षेत्रको सहभागितामा नेपालमा मल उद्योग स्थापना गर्ने सहमति भएको भारतीय दूतावासले जनाएको छ ।

मल कारखाना स्थापनाका लागि आवश्यक तयारी तथा अध्ययन गर्न दुवै देशका प्रधानमन्त्रीले निर्देशन पनि दिनुभएको छ । गोरखापत्रबाट