जनता टाइम्स

३ असार २०८०, आईतवार १४:०४

एमालेको आपत्तिपछि कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल


काठमाडौं, असार ३ । नियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले शीर्षकमा प्रदेशको नामको सट्टा अंक उल्लेख भएको भन्दै नियमापत्ति जनाउनु भएको थियो ।

सचेतक बर्तौलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई सोबारे स्पष्ट पार्न समय दिनुभएको थियो । बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अंक सच्याइ प्रदेशको नाम राख्ने बताउनु भयो।

तर सचेतक बर्तौलाले सो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढ्न नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट उक्त मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन गर्नुभएको थियो ।