जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १५:५६

यी हुन एटीएम ह्याक गरी पैसा चोर्ने चिनिया गिरोह, तीन बैंकको एटिएमबाट चोरे पैसा


काठमाडौं, भदौ १५ । एटिएमबाट रकम चोरी गर्ने पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । शनिवार राती एटीएमबाट पैसा चोर्दा चोर्दै पक्राउ परेका पाँच जना चिनिया नागरिकलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
प्रहरीकाअनुसार पैसा चोर्ने गिरोहमा संलग्न ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन । महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरु शनिबार मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट रकम निकाल्दानिकाल्दै पक्राउ परेका थिए ।

प्रक्राउ परेका चिनियाँको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चिनियाँ युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट नक्कली भिषा कार्ड १३२ र सक्कली भिषा कार्ड १७ थान बरामद गरिएको छ ।

राष्ट्र बैंकले नबिल बैंक‚ हिमालयन र प्रभु बैंकको एटिएमबाट रकम झिकिएको जानकारी गराएको छ । राष्ट्र बैंकका प्रतिनिधिले ३ वटा बैंकबाट यो रकम अनाधिकृरुतपमा झिकिएको जानकारी गराएका हुन ।