जनता टाइम्स

१० असार २०८०, आईतवार ०७:०७

जलविद्युतको अर्बौँ लगानी जोखिममा


काठमाडौं, १० असार । मनसुन सुरु भएको साता दिन नपुग्दै जलविद्युत आयोजनाहरुमा झन्डै ८ अर्व रुपैयाँको क्षति पुगेको छ। पूर्वी नेपालमा आएको बाढीका कारण कुल ४६३ मेगावाटका १० वटा आयोजनामा यो परिमाणको क्षति भएको प्रवर्द्धक कम्पनीहरुले बताएका छन् ।

यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले जलविद्युत आयोजनाहरुमा क्षति पुयाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ वटा आयोजनामा करिब ६ अर्व रुपैयाँबराबरको क्षति भएको छ।

विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी(१ मा मात्रै ५० करोडबराबरको क्षति भएको छ। उत्पादनको चरणमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२।१ मेगावाट क्षमताको तल्लो हेवा खोलामा १ अर्व रुपैयाँको क्षति भएको आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिनुभयो।

आयोजना पुनर्निर्माणका लागि दुई वर्षभन्दा बढी लाग्ने देखिएको छ। त्यस्तै, १४।९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुंगानाले जानकारी दिनुभयो । यो समाचार कारोबार दैनिकमा छ ।