जनता टाइम्स

१२ असार २०८०, मंगलवार ०९:३९

मुम्बईस्थित भारतीय बिधायकको घरबाट समातिए १४ अर्ब ठगी गर्ने शिव शिखर सहकारीका नाइके


काठमाडौं, असार १२ । सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईबाट पक्राउ परेका छन । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार शर्मालाई पक्राउ गरेर नेपाल ल्याएको छ ।

शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको छ । हिनामिनाको मुख्य नाइके न्यौपाने भएको अनुसन्धानमा खुलेपछि उनलाई भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ । अन्य जिल्लामा पनि उनीविरुद्ध अनुसन्धान जारी छ ।
सहकारीमा समस्या आएपछि केही महिनायता उनी भारतमा बस्दै आएका थिए । बाँकेको कोलहपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा लगानी गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।

न्यौपानेलाई मंगलबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । न्यौपनाले भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको पूर्वअध्यक्ष हुन । उनले सहकारीको पैसा नियमविपरीत आफ्ना निजी कम्पनीमा लगानी गरेका थिए । ती कम्पनीको व्यापार खस्किएपछि सहकारी समस्यामा परेको हो । जसकारण निक्षेपकर्ताहरूले आफ्नो पैसा फिर्ता पाएका छैनन । हाल सहकारी बन्द छ । नेपालको सहकारी क्षेत्रमा यो अहिलेसम्मकै ठूलो ठगी हो । सो सहकारीबाट एक लाखभन्दा धेरै पीडित रहेका छन ।

सिआइबीले सो सहकारीका सञ्चालकद्वय अमिस भण्डारी र पुष्कर मल्ललाई पक्राउ गरिसकेको छ । न्यौपानेकी श्रीमती गीता शर्मा पनि पक्राउ परेकोमा उनीहरू तीनैजना जेल चलान भइसकेका छन । भक्तपुरमा प्रहरीले १० जनाविरुद्ध मुद्दा दायर गरेकोमा सातजना फरार थिए । जसमध्ये पूर्वअध्यक्ष न्यौपाने पक्राउ परेका हुन ।
न्यौपाने अध्यक्ष रहेको विराटनगरको तुलसी सहकारीको ठगी प्रकरणमा पनि मोरङ जिल्ला अदालतमा गत महिना मुद्दा दायर भएको थियो । जसमा उनलाई मुख्य प्रतिवादी बनाइएको छ । उनको कम्पनीको सम्पत्ति रोक्का भइसकेको छ ।

सहकारीको पैसाबाट उनीहरूले निजी सम्पत्तिसमेत जोडेका थिए । केदारनाथकी श्रीमती गीताले साढे दुई करोड रुपैयाँ पर्ने गाडी चढ्दै आएकी थिइन् । सो गाडी बरामद गरी प्रहरीले लिलामी प्रक्रियामा पठाएको छ ।