काठमाडौँ, १८ असार । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता समीर लामिछानेको विवादमा एक अर्कालाई आरोपित गर्दै अदालत कर्मचारी र नेपाल बार एसोसिएसनले आ–आफ्ना विरोधका कार्यक्रम सुरु गरेका छन् ।
तामाङलाई कुटपिट गरिएको भन्दै कर्मचारी युनियनले आइतबार देशभरिका अदालतमा दिउँसो १ः३० बजेसम्म कामकाज ठप्प पारेका छन् । यस्तै बार एसोसिएसनले सोमबार देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका अन्य मुद्दामा बहस नगर्ने निर्णय गरेको छ ।
दुवै संस्थाले वक्तव्य जारी गर्दै घटनाप्रति एकअर्कालाई आरोपित गरेका छन् । कर्मचारी युनियनले अधिवक्ता लामिछानेमाथि घटनाको जाहेर दर्ता भई अनुसन्धान प्रक्रियामा रहेको अवस्थामा प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । कर्मचारीका चार सङ्गठनले वक्तव्य जारी गर्दै अनुसन्धानमा हस्तक्षेप नगर्न माग गरेका छन् ।
यस्तै बार एसोसिएसनले अधिवक्ता लामिछानेको रिहाइ माग गरेको छ । घटनासँग सम्बन्धित सिसिटिभी फुटेज सार्वजनिकको माग पनि बारले गरेको छ । लामिछानेका तर्फबाट पेस भएको जाहेरी दर्ता गर्न र घटनाको सत्यतथ्य छानबिनको माग पनि बारले अघि सारेको छ । गोरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्