जनता टाइम्स

१९ असार २०८०, मंगलवार १८:३९

केपी ओलीको निश्कर्ष : देश विकास गर्ने हो भने पहिलो अभियान गरिवी भगाउने हुनुपर्छ


काठमाडौं, असार १९ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि उपयुक्त ढंगबाट श्रमको प्रयोग हुन नसकेको बताउनु भएको छ । एमालेको केन्द्रीय कृषि तथा पशुपन्छी विभागको छैटौँ बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले श्रमले उचित प्रतिफल दिन नसक्ने अवस्था अहिले पनि नभएको बताउनु भयो । एउटा मानव समुदाय अहिले पनि आधुनिकतामा प्रवेश गर्न नै नपाएको अध्यक्ष ओलीको भनाई छ । अहिले पनि गाउँका गाउँ अशिक्षा, भोकमरी, गरिबी रहेको उहाँको भनाइ छ । यसले मानवीय सभ्यता र विकासलाई मजाक गरिरहेको निश्कर्ष उहाँले सुनाउनु भयो । ‘मानवीय न्यायपूर्ण वा समतामूलक समाज र राज्य व्यवस्था अहिले पनि छैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले आज पनि मानव जातिले भोगिरहेको सबैभन्दा ठूलो समस्या भोकमरी र गरिबी नै भएको उहाँले बताउनुभयो । ‘मानवलाई नसुहाउने र मानवले अन्त्य गर्नुपर्ने कुरा भोकमरी र गरिबी हो,’ ओलीले भन्नुभयो । खानाको चिन्ताबाट मुक्त हुने बित्तिकै मानिसले चिन्तन र रचना गर्ने ओलीको भनाई छ । ‘भोकको आगो बलेको मान्छेले चिन्तन र ज्ञानको सिर्जना गर्न सक्दैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

भोकको आगो पेटमा जलिरहेको छ भने मानिसले चिन्तन, मनन केही गर्न नसक्ने उहाँले बताउनुभयो । समाजलाई न्यायपूर्ण बनाउनको लाग सबै मान्छेलाई भोकले मर्ने चिन्ताबाट मुक्त गराउनु पर्ने उहाँको भनाई छ । ‘जबसम्म भोकमरी र गरिब अन्त्य हुँदैन, तबसम्म भोकमरीको अन्त्य र मानव अधिकारको प्रत्याभूति हुँदैन,’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले स्वतन्त्रता अगाडि हक प्राप्ति हुनु पर्नेमा पनि जोड दिनुभयो ।

‘गरिबी हटाउनु हाम्रो पहिलो काम हो, गरिबी भगाउने पहिलो हाम्रो अभियान हुनुपर्छ, देश विकास गर्ने हो भने पहिलो अभियान त्यो हुनुपर्छ’, ओलीले भन्नुभयो ।नेपालको लागि गरिबी भगाउने कुरा सहज भएको ओलीले बताउनुभयो । नेपाल प्राकृतिक रूपले सुन्दर र धनी भएकोले गरिबी हटाउन सजिलो भएको उहाँले प्रष्ट पार्नुभयो । सबै ठाउँमा कृषिको राम्रो सम्भावना नहुने बताउँदै ओलीले नेपालका सबै ठाउँमा उब्जनी हुने बताउनुभयो । नेपालको प्रकृति उत्पादनमय भएकोले उत्पादन जति पनि बढाउन सकिने उहाँले प्रष्ट पार्नुभयो ।

आज दिगो विकासको कुरा चलिरहेको बताउँदै ओलीले दिगो विकास भनेकै कृषि भएको बताउनुभयो । कृषि अर्थतन्त्र बलियो हुनेलाई कसैले प्रहार गर्न नसक्ने उहाँले दाबी गर्नुभयो । ‘खाने कुराको मार्केट भनेको स्थायी मार्केट हो’, उहाँले भन्नुभयो ।