जनता टाइम्स

२२ असार २०८०, शुक्रबार ०७:३६

किन पोखराबाट लेखनाथ टुक्र्याउन खोजिँदै छ ?


पोखरा, २२ असार । लेखनाथ नगरपालिका पुनस्र्थापना माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा बुधबार आयोजित समारोहबीच सो हस्ताक्षर अभियान सुरु भएको हो ।

संघ स्थापना दिवस अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि उपस्थिति थियो । उनकै सामुन्ने लेखनाथवासीले अभियान सुरु गरेका हुन् । पोखरा महानगरपालिकाबाट छुट्याएर साबिकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै आफूहरूले अभियान सुरु गरेको सो अभियानका एक सदस्य सन्दीप पौडेलले बताउनुभयो ।

विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले लेखनाथ क्षेत्रलाई सधैं पछि पारेकाले आफूहरू साबिकको लेखनाथ पुनस्र्थापनाको मागसहित अघि बढेको उहाँ बताउँनुहुन्छ । पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा पटकपटक चरम बेवास्ता गरिएको र पछिल्लो समय लेखनाथलाई डम्पिङ साइट बनाइएको लेखनाथवासीको गुनासो छ ।

पोखरा महानगरपालिका बनेपछि सात तालको वाटिका भनेर चिनिने लेखनाथ उपेक्षामा पर्न थालेको लेखनाथवासीको सधैंको गुनासो रहँदै आएको छ । लेखनाथलाई छुट्टै पालिका बनाउन सके यहाँका तालहरूको संरक्षण, पर्यटन प्रवद्र्धन र योजनाबद्ध विकास निर्माण हुन सक्ने उहाँहरू बताउँनुहुन्छ ।

लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेयले पनि विगतमा लेखनाथ नगरपालिकाको नामबाट चिनिएकोमा महानगरमा गाभिएपछि पोखरा महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेको बताउँनुहुन्छ ।

उहाँले महानगर भइसकेपछि जुनरूपमा विकास निर्माणको लागि योजना पर्नुपर्ने हो त्यसअनुसार पर्न नसकेकोले अभियान जाजय रहेको बताउनुहुन्छ । लेखनाथवासीले विगतका फोरममा पनि यसखालको माग राख्दै आएको उहाँले स्मरण गरे । यो समाचार राजधानी दैनिकमा छ ।