जनता टाइम्स

२३ असार २०८०, शनिबार १३:२९

कालीकोटमा एउटै गाउँमा तीन सय जना बिरामी


मान्म, २३ असार । कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् । अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ । चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिनुभयो ।

बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ । ‘गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ’, उहाँले भन्नुभयो ।

नौ बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको मतले बताउनुभयो । अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा. टङ्कप्रसाद आचार्यले जानकारी दिनुभयो । ‘शुक्रबार एक सय ९४ महिला र एक सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका छौँ’, उहाँले भन्नुभयो,‘उपचार गर्न आउने दुई सय छ जना १५ वर्षमुनिका छन् ।’ सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा. आचार्यले बताउनुभयो ।