जनता टाइम्स

४ श्रावण २०८०, बिहीबार ०८:२०

उच्चपदस्थको सेटिङमा भन्सारबाट उम्काइएको क्विन्टल सुन बरामद


काठमाडौं, साउन ४ । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले बुधवार राती सुन बरामद गरेको हो । यो प्रकरणसँगै बिमानस्थल भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ ।

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना रहेको अधिकारीहरूको भनाइ छ । यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाडौंको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए । मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद भएको र केही व्यक्ति पक्राउ परेको बताउनुभएको छ । भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिदिएको थियो । ‘आठवटा कार्टुन बक्सामा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । जसको तौल १ सय ५४ केजी उल्लेख छ । यस आधारमा करिब एक क्विन्टल सुन हुनुपर्छ भन्ने अनुमान गरेका हौं,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘सामान जाँच गर्ने स्क्यानरले कसरी पत्ता लगाएन ? सम्भावित सेटिङबारे अनुसन्धान हुँदै छ ।’

बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’का नाममा विमानस्थल भन्सारले जाँचपास हुन लागेको सामान शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो । जाँचपासपछि सुन लिएर ट्याक्सीबाट बाहिरिएका दुई जना सिनामंगलमा समातिएका थिए । पछि तीन जना पक्राउ परेका छन । सुनको बिस्कुटको आकार बिगारी स्कुटरको ‘ब्रेक सु’ भित्र कभर गरेर ल्याएको तर भन्सारमा भने स्कुटरको ब्रेक सु भन्ने घोषणा गरिएको छ । बिमानस्थलमा सेटिङबिना यति धेरै सुन तस्करी संभव छैन ।