जनता टाइम्स

५ श्रावण २०८०, शुक्रबार १४:१८

नटबोल्ट चोरी भएपछि ढल्यो हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनको टावर


रौतहट, साउन ५ । नटबोल्ट चोरी भएपछि रौतहटको चन्द्रपुर–४ स्थित हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइनको टावर ढलेको छ । टावरको तल्लो भागको एंगलको नटबोल्ट खोलेपछि चन्द्रपुर–लमाहा खण्डको तीन वटा टावर ढल्ने अवस्थामा पुगेको थियो । त्यसमध्येको एउटा टावर ढलेको हो । आयोजनाले ढलेको पोलको फलाम लगेको छ ।

हेटौंडा–ढल्केबर–इनरुवासम्म ७ सय ९२ वटा टावर निर्माण हुँदै गरेको अवस्थामा नचिनेको मानिसहरूको समूहले रौतहट खण्डमा पर्ने तीन वटा टावरको जगबाटै नटबोल्ट खोलेका थिए । सो कार्यपछि एउटा टावर ढलेको आयोजनाका निर्देशक श्यामकुमार यादवले बताउनु भयो । उहाँका अनुसार अज्ञात समूहले निर्माण सम्पन्न भएका टावरमध्ये तीन वटाको जगैबाट नट खोलेर लगेको छ । नटबोल्ट खोलेर लगेपछि एउटा ढलेको र अन्य दुईवटा बांगो भएको छ ।

निर्देशक यादवका अनुसार नटबोल्ट खोल्ने समूहको पहिचानका लागि आयोजनाको तर्फबाट प्रहरीलाई उजुरी गरिसकेको छ । ढलेको र बांगो भएको टावरलाई तत्कालै मर्मत गर्ने आयोजनाले जनाएको छ । २०७० सालमा सम्झौता भएको राष्ट्रिय गौरवको आयोजनाको भारतीय ऐन्जेलिक इन्टरनेसनल लिमिटेड कम्पनीले ठेक्का पाएको थियो ।

आयोजनाको लागत १६ अर्ब रहेको छ । ३० महिनाभित्र काम सम्पन्न पर्नेमा जनतासँगको विवाद, जग्गा अधिग्रहण, वनको अवरोधले बेलाबेलामा काम रोकिने गरेपछि दस वर्षमा सम्पन्न हुन सकेको छैन । आयोजनाका अनुसार २०८१ सालभित्रमा ठेकेदारले सबै काम सक्नुपर्ने छ । यही लाइन वीरगन्ज पथलैया हुँदै खिम्तीसम्म पुग्ने छ । रणनीतिक महत्त्वको प्रसारण लाइनको निर्माण नहुँदा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् धनुषास्थित ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावमा पश्चिमतर्फ पठाउन नसकेको आयोजनाले जनाएको छ ।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुधार तथा नेपाल–भारत विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी डबल सर्किट प्रसारण लाइन निर्माणका क्रममा टावरको नटबोल्ट चोरी भएको हो । मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्‍याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउपालिका–४ मा जोडिने आयोजनाले जनाएको छ ।