जनता टाइम्स

८ श्रावण २०८०, सोमबार १०:३१

मेरो कारण सय केजी सुन समातिएको हो : अर्थमन्त्री


रुपन्देही, साउन ८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमानस्थलबाट तस्करी भएर बाहिरिएको सय केजी सुन आफ्नो कारण समातिएको दावी गर्नुभएको छ । सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले यस्तो दावी गर्नुभएको हो ।

आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन समातिएको अर्थमन्त्री महतको भनाई थियो । तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था मैले नै गरेको हो, त्यही कारण सूचना दिने काम भयो र सय केजी सुन समातिएको हो, अर्थमन्त्री महतको भनाई थियो ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने पनि बताउनु भयो । नयाँ मौद्रिक नीतिले व्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने उहाँको भनाई छ ।

नेपाल राष्ट्र बैंकले आइतवार मौद्रिक नीति सार्वजनिक गरेको हो । ‘हिजो मात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ । मौद्रिक नीतिले व्याजदर कम भएपछि लगानी बढ्छ । यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ,’ अर्थमन्त्री महतले भने ‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ,जग्गा कारोबार पनि सहज हुन्छ’ अर्थमन्त्रीले भन्नुभयो ।

व्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने बताउँदै अर्थमन्त्री महतले पुँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमा नै ठेक्का लगाउनुपर्ने र गतवर्ष राजस्व कम उठे पनि यो वर्ष राजस्व धेरै उठ्ने गरी सरकारले योजना बनाएको बताउनु भयो ।