जनता टाइम्स

१० श्रावण २०८०, बुधबार १६:०७

भरियालाई समातेर क्वीन्टल सुन ल्याउने मालिक बचाउने खेलमा सरकार लागेको रवि लामिछानेको आरोप


काठमाडौं, साउन १०। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा ठूलो सेटिङ भएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले सामान्य कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाइएको बताउनु भयो ।

‘यस्तो गम्भीर विषयमा विभिन्न निकायका प्रमुखलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारी साटफेर गर्नुपर्ने हो ?’ लामिछानेले प्रश्न गर्दै भन्नुभयो, ‘डामेर छोडेपछि त्यहाँ भएका सूचना लुकाउने र अनुसन्धान प्रभावित पार्ने समय दिइएको छ । कतिले फोन फर्म्याट गर्लान, कतिले टेलिभिजनमा तामातुलसी गर्लान ।’

ट्याक्सीबाट भरिया पक्राउ गरेर मालिकलाई जोगाइएको आरोप पनि लामिछानेको छ । उहाँले भरियालाई मालिकसम्म पुग्न दिएको भए मालिकलाई नै कर्यापझ्याप पार्न सकिन्थ्यो भन्दै त्यसो किन गरिएन भन्ने प्रश्न सोध्नुभयो ।

सुनतस्करीमा ठूलो सेटिङ हुने गरेको र यो निरन्तर चल्दै आएको भन्दै उहाँले आफ्नो पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको र गृहमन्त्रीले त्यसमा चित्तबुझ्दो जवाफ नदिएमा रास्वपाले अर्को कदम चाल्ने बताउनु भयो ।