जनता टाइम्स

१२ श्रावण २०८०, शुक्रबार १३:५१

प्रधानमन्त्रीको भाषणमा वाहवाही यता सोरुका विद्यार्थीले पाएनन् दिवा खाजा


मुगु, १२ साउन । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ बाट देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म र हाल कक्षा ६ सम्मका सबै विद्यार्थीका लागि दिवा खाजा व्यवस्था गरेको छ । राज्यले यो कार्यक्रमलाई महतव दिएर वार्षिक करिब ९ अर्ब रकम विनियोजन गरेको छ । जसबाट ३० हजार सामुदायिक विद्यालयका ३२ लाख बालबालिका लाभान्विन हुने छन् ।

तर, मुगुको दुर्गम गाउँपालिका सोरुमा तीन महिनादेखि दिवा खाजा बन्द भएको छ । बसलदेवी विक विजय आधारभूत विद्यालय सिपमा कक्षा पाँचमा पढ्छन् । तर, विद्यालयमा नियमित खाजाको व्यवस्था छैन । सोरुकै महादेव आधारभूत विद्यालयको अबस्था पनि उस्तै छ । कक्षा पाँचका राजबहादुर कामी । कर्णाली प्रदेशका मुगुसहित हुम्ला, डोल्पा, जुम्ला र कालिकोट पाँच जिल्लाका लागि प्रति विद्यार्थी २० रुपैयाँका दरले वार्षिक रूपमा १८० दिन नबढ्ने गरी सरकारले बजेटको व्यवस्था गर्छ ।

तर, भवानी माध्यमिक विद्यालय पुरुमुरुका बालबालिकाले पछिल्लो दुई वर्षयता विद्यालयमा खाजा खानै नपाएका कक्षा तीनमा अध्ययरत छात्रा सिर्जना कामीले बताइन् । पोषणमा सुधारसँगै शिक्षण सिकाइमा बालबालिकाको सहभागिता बढाउनु र सिकाइस्तर सुधार गर्नु दिवा खाजा कार्यक्रमको मुल उद्देश्य हो । साथै दिवा खाजामा स्थानीय कृषिउपजको उपभोग बढाएर विद्यालय र कृषि उत्पादनबीच सम्बन्ध स्थापित गर्नु यसको अर्को उदेश्य हो ।

तर बालबालिकाले आक्कल झुक्कल पाउने खाजामा पनि चाउचाउ बिस्कुट लगायत बजारको तयारी खाजा हुने गरेको अभिभावक सोरु–७ बुम्चका लालसिंह लावडले बताउनुभयो । दिवा खाजाका लागि आएको रकम अन्यत्र खर्च गर्न मिल्दैन । तर, कतिपय विद्यालयले व्यवस्थापन समितिको निर्णय भन्दै बालबालिकालाई भोकै राखेर रकम अन्तै खर्च गर्दै आएको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाले अवगत गराउनुभयो ।

सोरु गाउँपालिका भित्रका ३९ विद्यालयमध्ये अधिकांशमा दिवा खाजा नियमित छैन । स्थानीय सरकार भने थाहा पाएर पनि चुपचाप बसेको छ सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही भन्नुभयो । देशभरका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । विद्यार्थी नियमित विद्यालयमा आएका छन् भने सामुदायिक विद्यालयको सिकाई गुणस्तर पनि बढेको छ ।

तर, मुगुको सोरुमा दिवा खाजावापतको रकम अन्यत्र खर्च गरिँदा विद्यार्थी मारमा परेका छन् । स्थानीय सरकारले अनुगमन चासो नदिएका कारण दिवा खाजा प्रभावकारी नभएको अभिभावकहरु बताउँछन् । यता प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले दुई दिन अघि मात्रै इटालीमा दीवा खाजा नेपालमा राम्रंो भएको भाषण गर्नुभएको थियो तर देशभर धेरै विद्यालयमा अझै दिवा खाजा भने पाउन कठिन छ ।