काठमाडौं, साउन १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
आयोगले आज पुरीबिरुद्ध मुद्धा दायर गरेको हो । नापी अधिकृत पुरीबिरुद्ध परेको उजुरी छानबिन गर्दा उनीसँग रहेको २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँको सम्पत्तिमध्ये १ करोड २० लाख ७७ सय ७४८ रुपैयाँको मात्रै वैधानिक स्रोत देखिएको आयोगले जनाएको छ । आयोगले पुरीको असार मसान्तसम्म पारिश्रमिक बचत, बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बिमा परिपक्व भई प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जा रकमबाट प्राप्त आम्दानी वैधानिक रुपमा नखुलेकाले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले बिज्ञप्तीमार्फत ’सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गर्दै गरेको पुष्टि हुन आएको देखिएको’ जनाएको छ । पुरीको सम्पत्ति पत्नी सिर्जनाको नाममा समेत देखिएकाले सम्पत्ति जफत गर्न उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्