जनता टाइम्स

२२ श्रावण २०८०, सोमबार १८:५८

१० करोड बढी भ्रष्टाचार गरेको आरोप लागेका मालपोतका अधिकृतलाई विशेष अदालतले दियो सफाइ


काठमाडौं, साउन २२ । अकुत सम्पत्ति आर्जनमा ललितपुर मालपोत कार्यालयका शाखा अधिकृत बद्रीराज ढकाललाई विशेष अदालतले सफाइ दिएको छ ।

यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले आज ढकाललाई आरोपबाट सफाइ हुने फैसला सुनाएको हो । ढकालसँगै उहाँकी श्रीमती सृजना र जेठान नवराज अर्यालले पनि सफाइ दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७७ जेठ २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सम्पत्ति जफत प्रयोजनका लागि सृजना र नवराजलाई पनि प्रतिवादी बनाइएको थियो । ढकालले अकुत सम्पत्ति श्रीमती र जेठानका नाममा पनि जोडेको आरोप लागेको थियो । अस्थायी शिक्षकमा २०५४ माघ १४ गते नियुक्ति पाएका ढकालले २०५५ असोज १६ गते खरिदारमा नाम निकालेर मालपोत कार्यालय लमजुङबाट सेवा सुरु गर्नुभएको थियो । उहाँ कास्की, तनहुँ, डिल्लीबजार र पुनः कास्की हुँदै ललितपुर मालपोतमा सरुवा हुनुभएको थियो ।

आयोगले १० करोड २७ लाख ५८ हजार ४६१ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै मुद्दा दायर गरेको थियो । ढकालको वैध आय ४ करोड २६ लाख २४ हजार ३७ रुपैयाँ देखिए पनि उहाँको यसबीचमा खर्च र लगानी १४ करोड रुपैयाँभन्दा बढी देखिएको अख्तियारले निष्कर्ष निकालेको थियो । तर बिशेष अदालतले सफाई दिएको हो ।