काठमाडौं, साउन २४ । भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट गैर आवासीय नेपाली संघ (एनआरएनए) का नेताहरुको समुहले खरिद गरेका छन । अमेरिकामा लामो समयदेखि हायात, होलिडे इनलगायत चर्चित होटल सञ्चालन गरिरहनु भएका एनआरएनएका नेता बुद्धिसागर सुवेदीसहित चार जना एनआरएनहरुले रिसोर्ट खरिद गर्नुभएको हो ।
सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको छ । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता रहेको छ । टाइगर प्यालेसमा करिब तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्री गर्ने गृहकार्य अघि बढाएको थियो । तर, रिसोर्ट स्थापना गर्दाका नेपाली साझेदारले असहयोग गरेपछि त्यो प्रयास सफल हुन सकेको थिएन । सुवेदीसहितको एनआरएन समूहले हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगरमा सरेको हो ।
विगत ८ महिनादेखिको प्रयासपछि सम्झौता सम्भव भएको सुवेदीले बताउनु भयो । उहाँका अनुसार नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेको छ । सवै दायित्व सकार गर्दा कुल लगानी पाँच अर्ब रुपैयाँभन्दा बढी हुने सुवेदीले बताउनु भयो । हिमालयन टाइगरका अध्यक्ष सुवेदी गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।
सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु सञ्चालन गरिरहनु भएको छ । सुवेदीसहितको समूहले अमेरिकाको सिकागो, वासिंगटन डिसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा होटेल चलाइरहेको छ । नेपालमा भने सुवेदीले अर्कै समूहसँग मिलेर टाइगर प्यालेस खरिद गर्नुभएको हो ।
हिमालयन टाइगरमा सुवेदी, गैरआवासीय नेपाली संघका बर्तमान अध्यक्ष कुल आचार्य, अमेरिकामा बसोवास गरिरहनु भएका बर्तमान उपाध्यक्ष केशव पौडेल र क्यानडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतमलगायतको लगानी रहेको छ । अष्ट्रेलियाको सिल्भर हेरिटेज ग्रुपले करिब ५ अर्ब लगानीमा २०७४ सालमा यो रिसोर्ट सञ्चालनमा ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्