काठमाडौं, साउन ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गालेको छ।
महाशाखाले ब्रेक शुबाट सोमबार निकालिएको सुन मंगलबार गालेको हो। गालेर तौलिएपछि उक्त सुन ६० किलो ७ सय १६ ग्राम भएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार सोमबार ब्रेक शुबाट निकालेर तौलिँदा उक्त सुन ६० किलो ७ सय ८९ ग्राम थियो। अहिले सुन गालेर ३४ वटा बिस्कुट बनाइएको थियो । सुन गाल्दा थोरै मात्रै जर्ती निस्किएको छ। ७३ ग्राम जर्ती निस्किएको उहाँले जानकारी दिनुभयो ।
अब महाशाखाले यसको गुणस्तर परीक्षण गर्नेछ। ३ दिनभित्र गुणस्तर परीक्षण गरिसक्ने महाशाखाले बताएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेपछि सुन जोखिएको थियो।
राजश्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु विमानस्थल बाहिरबाट बरामद गरेको थियो। सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।













प्रतिक्रिया दिनुहोस्