काठमाडौं, साउन ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरामद भएको सुन गायब पार्दै लैजान खोजेको बताउनु भएको छ ।
सिनामंगलमा बरामद सुन १ क्विन्टलबाट ६१ केजीमा कसरी झर्यो भन्दै ओलीले सरकारलाई प्रश्नसमेत गर्नुभएको छ । उहाँले उच्चस्तरीय छानबिन आयोग नबनाउनुको मक्सद यही रहेको ठोकुवासमेत गर्नुभयो ।
’आयोग बन्न नदिँदा एक सय केजी सुन ६१ केजीमा झर्यो । त्यसैले यो आयोग बन्न दिइएको छैन,’ पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आज आयोजना गरेको ’वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफललाई सम्बोधन गर्दै ओलीले भन्नुभयो ।
सुन तस्करी प्रकरणमा एमालेले न्यायिक छानविन आयोग गठनको माग गर्दै आएको छ । यो माग्र पूरा नहुँदा एमालेले संसद् अवरोध गरिरहेको छ । ’प्रधानमन्त्रीसँग यो विषयमा कुरा गर्दा ३५ दिन पर्खिनुहोस भन्नुहुन्थ्यो । त्यतिञ्जेलसम्म कति केजीमा झर्ने हो ?,’ ओलीले प्रश्न गर्नुभयो ।
अध्यक्ष ओलीले अहिले एयरपोर्टबाट दैनिक सुन बगिरहेको ठोकुवासमेत गर्नुभयो । ’एयरपोर्टबाट सुन बगिरहेको छ । अरु खुल्ला भन्सारको अवस्था झन कस्तो होला ?’ उहाँको भनाई थियो । उहाँले सुनमा लगानी गर्ने लगानीकर्ता को हो भन्दै त्यसको खोजी गर्नुपर्ने पनि बताउनु भयो ।














प्रतिक्रिया दिनुहोस्