विराटनगर, भदौ ४ । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले आफू बिरामी भएको कारण जनाइ प्रदेशसभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराउनु भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको बैठकमा दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराउनु भएको हो । आइतवार ५ बजेपछि गराइएको जानकारी कार्यावस्था शाखाले दर्ता भने गरेको छैन । उहाँले कोशी प्रदेशसभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न समेत अनुरोध गर्नुभएको छ । नियमावलीको नियम ११ मा अध्यक्ष मण्डलको व्यवस्था रहेको छ ।
सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधन सहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ । सोही नियम अनुसार कोशी प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट इस्राइल मन्सुरी,राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना अध्यक्ष मण्डलमा रहनुभएको छ ।
अध्यक्ष मण्डलमा रहेका राप्रपाका प्रदेशसभा सदस्य अम्बर बहादुर विष्ट र एमालेका मालती कुमारी सुब्बा शनिवार नै घरायसी काम परेको भन्दै बिदामा बस्नुभएको छ । अध्यक्ष मण्डलमा रहेका इस्राइलमन्सुरी गीता भन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४९२० बाट निर्वाचित हुनुभएको हो । उप सभामुख बिदामा बसेको बेला अव प्रदेश सभा मन्सुरीले सञ्चालन गर्नु पर्नेछ ।
उप सभामुख दनुवारले आफ्नो अनुपस्थिति भएको बेला सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिनुभएको छ । उहाँले आफू बिरामी भएर उपचार गराउन बाहिर जानु पर्न भन्दै नफर्किन्जेल सम्मका लागि सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिनुभएको हो । कोशी प्रदेश सभामा रहेका एमालेका ७ र राप्रपाका २ जना प्रदेश सभा सदस्यले हिजै बिदा लिइसकेका छन् । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने तयारी गरेका छन् ।
थापाले यस बारेको सूचना शुक्रवार नै प्रदेशसभामा दर्ता गराइसक्नु भएको छ । आइतबारलाई मागिएको समय उपसभामुख सिर्जना दनुवारले फेरबदल गरी सोमबार तोक्नुभएको थियो । मुख्यमन्त्रीको रूपमा थापा साउन १६ गते नियुक्त हुनुभएको थियो । उहाँले ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासको मत लिनका लागि सत्ता गठबन्धन बाहेक राप्रपा र एमालेले सभा सञ्चालन गर्नु पर्ने हुन्छ । सत्ता गठबन्धनसँग कोशी प्रदेश सभामा ४७ मत मात्रै रहेको छ । सभा सञ्चालन गर्ने प्रदेश सभाले बराबर नभएको अवस्थामा विश्वासको मत दिन नपाउने भएका कारण थापालाई विश्वासको मत राप्रपा र एमालेका कारण सङ्कट उत्पन्न भएको छ ।













प्रतिक्रिया दिनुहोस्