जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार १५:५३

चिनियाँ ब्यापारीलाई उपराष्ट्रपति पुनको अपिल : पर्याप्त प्रतिफल पाइन्छ, ढुक्क भएर पैसा हाल्नुस


काठमाडौं, भदौ २१ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई आह्वान गर्नुभएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानी काठमडौंमा आज आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘लगानीकर्ताको रकम र प्रतिफलको सुरक्षाको सुनिश्चिताका लागि नेपालमा पर्याप्त ऐन कानून छन् ।’

उपराष्ट्रपति पुनले नेपालमा पर्यटन, जलविद्युत, खनिज पदार्थको उत्खनन, जडीबुटीको व्यावसायिक खेती तथा प्रशोधन, यातायातको सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार, कृषि प्रविधि र औजार उत्पादनलगायत अनेकन क्षेत्रमा लगानी गर्न सकिने बताउनुभयो । ‘लगानीको राम्रो प्रतिफल प्राप्त हुन्छ, ढुक्क भएर पैसा हाल्नुस,’ उपराष्ट्रपति पुनले भन्नुभयो । उहाँले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा मात्र नभई कृषि अनुसन्धान, प्रयोगशाला, सेवा व्यवसाय, विद्युतीय सवारीसाधन, केवलकार र सुरुङमार्ग निर्माणमार्फत पनि यातायात क्षेत्रमा लगानीका प्रशस्त अवसर छन् भन्दै चीनसँगको साझेदारी र सहकार्यबाट नेपालको समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

कृषि नेपालको प्राथमिकताको क्षेत्र भएको तर, दुई अर्ब अमेरिकी डलर बराबरका कृषि उपज वर्षेनी आयात हुने गरेको कटु यथार्थ सुनाउँदै उहाँले कृषि उपजको आयात प्रतिस्थापन गर्न यस क्षेत्रमा पर्याप्त लगानी गरे प्रतिफल सुनिश्चित हुन्छ भन्नुभयो । उपराष्ट्रपति पुनले जैविक फलफूल र सागसब्जीको विश्वबजारमा ठूलो माग रहेको बताउँदै कतार र संयुक्त अरब इमिरेट्समा नेपाली जैविक उत्पादन निर्यात हुनेको जानकारी पनि दिनुभयो ।

नेपाल र चीनबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई ६४ वर्षदेखिको कूटनीतिक माध्यमले अझ सुदृढ र सवल तुल्याएको बताउँदै उहाँले बेला–बेलामा दुवै देशबाट उच्चस्तरमा हुने भ्रमण आदानप्रदानले पारस्परिक मैत्रीलाई थप प्रगाढ बनाएको उल्लेख गर्नुभयो ।