काठमाडौं, भदौ ६। काठमाडौं महानगरपालिकामा बालेन्द्र साह मेयर निर्वाचित भएपछि उनको नेतृत्वमा दोस्रो बजेट महानगरपालिकाले ल्याएको छ । बालेन्द्र साह नेतृत्वको काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट सार्वजनिक गरेको गरेको छ । मेयर साहको पहिलो कार्यकाल वितिसकेको छ भने उहाँ अहिले दोस्रो कार्यकालमा हुनुहुन्छ ।
साह मेयर निर्वाचित भएपछि उहाँले पहिलो बजेट अर्थात आर्थिक वर्ष २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याउनु भएको थियो । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० सकिँदा जम्मा ९ अर्ब १६ करोड ३३ लाख ७२ हजार मात्रै खर्च गर्यो । यो भनेको कुल बजेटको ३६ दशमलव ४ प्रतिशत मात्रै हो ।
बजेट खर्चको तथ्याङ्क हेर्ने हो भने साहले नेतृत्व गरेपछिको बजेट खर्च निकै नाजुक देखिन्छ । पूर्वाधार र विकास निर्माणमा भन्दा पनि जतासुकै डोजर चलाएर चर्चामा रहनु भएका मेयर साहको अहिले पनि सामाजिक सञ्जाललगायतमा चर्चा व्यापक छ । काठमाडौं महानगरपालिकाका ३२ वटा वडा मध्ये सबै वडा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा एकिकृत समाजवादीले जितेको छ । कार्यपालिकामा कांग्रेसको बहुमत रहेको छ भने दोस्रोमा एमाले र तेस्रोमा एकिकृत समाजवादी छ । उपमेयर समेत एमालेले जितेको छ भने स्वतन्त्रबाट जित्ने मेयर साह एक्लै हुनुहुन्छ ।
मेयर साहले धेरै निर्णय कार्यपालिकाबाट भन्दा पनि आफू खुशी गर्दै आएको भनेर आलोचना हुने गरेको छ । तर, यस्ता विषयमा बहुमत रहेको कांग्रेस र एमालेका कार्यपालिका सदस्यहरुले विरोध गर्ने हैसियत अहिलेसम्म राखेको देखिँदैन । वडाध्यक्षहरु मेयर साहका सबै गतिविधिबाट सन्तुष्ट भएर विरोध नगरेका हुन त ? महानगरपालिकाकै एक कर्मचारी भन्छन, ‘त्यस्तो होइन, अहिले सबै वडाध्यक्षहरुलाई मेयर साहले बजेटले बुझो लगाई दिएपछि उहाँहरुको विरोधको आवाज बन्द भएको छ ।’
जनप्रतिनिधिको एक वर्ष पूरा भएको अवसरमा दुई घण्टा झार उखेल्न ३२ वडालाई ३२ लाख दिने दानी मयेरले सबै वडाध्यक्षको मुखमा बजेटको बुझो लगाई दिएको तथ्य नकार्न मिल्ने खालको देखिदैँन । मुलुक संघीयतामा गएपछिको पहिलो मेयर बन्नु भएका विद्यासुन्दर शाक्यले आर्थिक वर्ष ०७४÷०७५ को पहिलो बजेट ल्याउनु भएको थियो । उहाँले पहिलो बजेटमा काठमाडौं महानरपालिकाले वडाहरुलाई ठूला, मध्यम र साना गरी ३ वर्गमा विभााजन गर्दै विभिन्न शीर्षकमा फरक–फरक रकमसहितको बजेट छुट्याएको थियो ।
शाक्य मेयर निर्वाचित भएर आएपछिको पहिलो बजेटमा ३२ वटा वडालाई ठूला, मझौला र साना गरी तीन भागमा विभाजन गरेर सो रकम बराबरको बजेट विनियोजन गरिएको थियो । महानगरपालिकाले ३२ मध्ये १५ वटा वडालाई ठूलोको सूचीमा राखेको छ भने १० वटालाई मझौला र ७ वटा वडालाई सानाको सूचीमा राखेको छ । १, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ नम्बर वडा ठूलोको सूचीमा छन् । त्यतिबेला ती १५ वटा वडाले प्रत्येकले २ करोड ३३ लाखको बजेट पाएका थिए ।
२, ५, ८, १७, २२, २४, २५, २८, २९ र ३० नम्बर वडा मझौलाको सूचीमा छन् । यी प्रत्येक वडाले १ करोड ५६ लाख बजेट पाएका थिए । १२, १८, १९, २०, २१, २३ र २७ साना वडाको सूचीमा छन् । साना प्रत्येक वडाले १ करोड ११ लाख बजेट पाएका थिए । शाक्यले आर्थिक वर्ष २०७६–७७ को बजेटमा ठूलो, मझौला र साना गरी तीन तहमा वटालाई छुट्याएर बजेट विनियोजन गर्दा ठूला वडालाई ३ करोड ११ लाख, मझौला वडालाई २ करोड ९ लाख र साना वडालाई १ करोड ५७ लाख व्यवस्था गरेको थियो । शाक्य मेयर रहँदाको अन्तिम वर्ष अर्थात २०७८/०८९ को बजेटमा साना वडालाई ३, मझौला वडालाई पाँच र ठूला वडालाई सात करोडको व्यवस्था गरिएको थियो ।
तर, जब काठमाडौं महानगरपालिकामा बालेन्द्र साह मेयर निर्वाचित भएर आउनु भयो । उहाँ निर्वाचित भएकै वर्षको पहिलो बजेटमै उहाँले वडाको बजेटमा भारी वृद्धि गर्नुभयो । उहाँको कार्यकालको पहिलो बजेट अर्थात आर्थिक वर्ष २०७९/०८० को बजेटमा काठमाडौं महानगरपालिकाले ठूला वडालाई १०, मझौलालाई साढे ७ र साना वडालाई ५ करोड रुपियाँ बजेट उपलब्ध गरायो ।
साह मेयर भएपछिको दास्रो बजेटमा वडालाई छुट्याएको बजेट हेर्ने हो भने त अझ अचम्म लाग्दो देखिन्छ । काठमाडौं महानगरपालिकाले २०८०÷०८१ को बजेटमा साना वडालाई पाँच, मझौला वडालाई साढे सात र ठूला वडालाई १० करोडको व्यवस्था गरिएको छ । त्यो रकम मध्ये पनि आधा बजेट वडा कार्यालयले आफ्नो तजविजमा खर्च गर्न पाउँछ ।
त्यसमा पनि वडालाई पूर्वाधारमा मात्रै खर्च गर्ने भनेर यसवर्षदेखि काठमाडौं महानगरपालिकाले सानालाई तीन करोड, मझौलालाई पाँच करोड र ठूलालाई सात करोड थप बजेट व्यवस्था गरेको छ । यसरी अहिले सानालाई कुल ८ करोड, मझौलालाई कुल साढे १२ करोड र ठूलालाई कुल रु १७ करोड बजेट व्यवस्था भएको देखिन्छ । यो बाहेक पनि वडाध्यक्षले नयाँ योजना बनाएर थप बजेट लिन सक्ने छन् र केही वडाले लिइरहेका छन् ।
काठमाडौं महानगरपालिकाको बजेट आकारको हिसावले हेर्ने हो भने करीब सुदुरपश्चिम प्रदेश बराबरको हो । यति धेरै बजेट ल्याउने काठमाडौं महानगरपालिकाकाले यो बजेट के–के शिर्षकमा खर्च गर्छ ? भन्ने जिज्ञासा स्वाभाविकै हो । तर, जनताको कर उठाएको यति ठूलो बजेट जनअपेक्षामा भन्दा पनि जनप्रतिनिधिको तजविजिमा बढी खर्च हुने दूर्भाग्य देखिएको छ ।
जनताको काम गर्नका लागि भनेर निर्वाचित भएका जनप्रतिनिधिको मोह पनि जनअपेक्षामा भन्दा द्रव्यमोहमा बढी केन्द्रित भएको भेउ पाउनु भएका मेयर साह पनि जनताको करलाई फालाफाल गर्दै जनप्रतिनिधिको तजविजीमा खर्च गर्न दिने र आफ्नो आलोचनामा विर्को लगाउने रणनीतिमा सफल बन्दै आउनु भएको छ । मेयर र कार्यपालिका सदस्यको गठजोरका कारण जनताको कर जनप्रतिनिधिको खर्च गर्ने रहरमा परिणत हुँदैगएको भन्दै काठमाडौं महानगरपालिकाकै केही कर्मचारीले चिन्ता व्यक्त गर्न थालेका छन् ।
‘विद्यासुन्दर शाक्य मेयर हुँदा उहाँसँग बहुमत थियो । तर, पनि बैठकहरुमा वडाध्यक्षहरुले उहाँलाई तिरिखिरी बनाउँथे,’ एक कर्मचारीले भने, ‘अहिले मेयर एक्लै हुँदा पनि कोही वडाध्यक्षले विरोध गरेको देखिँदैन । मेयरका कामबाट सन्तुष्ट भएर होइन । वडाध्यक्षले आफ्नो तजविजिमा खर्च गर्ने बजेटको खोलो बगाइदिएपछि उहाँहरुको मुखमा बुझो लागेको हो ।’
ती कर्मचारीले भनेको भनाइ र वडाध्यक्षहरुको मौनता देख्दा त्यो होइन भन्ने अवस्था पनि देखिदैँन । अहिले काठमाडौं महानगरपालिकाका ३२ वटा वडा मध्ये १९ वडाका वडाध्यक्ष दोहोरिएका छन् । उनीहरुले अव अर्को कार्यकालका लागि अध्यक्षको उम्मेदवार बन्न पाउँदैनन् । अहिले भएका अधिकांश वडाध्यक्षले उपमेयर वा मेयरको दाबी गर्ने संभावना पनि देखिदैँन ।
यस्तो अवस्थामा यो कार्यकाललाई नै अन्तिम ठानेका वडाध्यक्षहरु बढी द्रव्यमोहका कारण मेयरको बटेका सामू निरीह बनेको चर्चा भर्खर न्युप्लाजा सरेको कार्यालयमा पनि हुने गरेको छ ।













प्रतिक्रिया दिनुहोस्