विराटनगर, भदौ ११ । नेकपा एमाले कोेशी प्रदेशले प्रथम प्रदेश अधिवेशनका लागि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।
प्रदेश कमिटीको आइतबार बसेको बैठकले असोज १२ र १३ गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो । अनावश्यक गुठबन्दी हुनसक्ने आशंकामा एमालेले यस्तो निर्णय लिएको हो ।
बैठकको निर्णयअनुसार असोज ५ गते प्रदेशका सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट हुनेछन । सर्वसम्मत रुपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट पालिकाबाट प्रतिनिधि आउने छन ।
एमालेले एक हजारसम्म सदस्य रहेको पालिकाबाट १०० जना बराबर एक र त्यसभन्दा बढी भएको पालिकामा १५० जना बराबर एक जना अधिवेशन प्रतिनिधि छनोट गर्ने नियम बनाएको छ । एमालेका अनुसार सबै पालिकाबाट गरी प्रदेश अधिवेशनमा एक हजारदेखि ११ सय जनासम्म प्रतिनिधि आउनेछन् ।
प्रदेश कमिटीले पार्टी प्रवेश गरेकाहरुलाई एकै दिन भदौ २३ गते सपथग्रहण गराउने निर्णय पनि गरेको छ ।
प्रदेश अधिवेशन सञ्चालनका लागि १४ वटा उपसमिति गठन गरेको प्रदेश कमिटी बैठकले कोशी प्रदेशको समृद्धिको खाका तयार गर्नका लागि तीन सदस्यीय कार्यदल पनि बनाएको छ । पूर्वमुख्यमन्त्री शेरधन राईको नेतृत्वमा बनेको कार्यदलमा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की र सुवोध प्याकुरेल सदस्य हुनुहुन्छ ।
कार्यदलले बनाएको दस्तावेजलाई अधिवेशनमा पेश गरिनेछ । ‘कोशी प्रदेश कस्तो बनाउने भन्ने खाका कार्यदलले बनाएर अधिवेशनमा छलफलका लागि पेश गरिने एमालेले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्