जनता टाइम्स

१९ भाद्र २०८०, मंगलवार १५:१८

कर्मचारीलाई देउवाको धम्की : मन्त्रीले भनेको सवै कुरा मान्नुपर्छ, नत्र अप्ठेरो पर्छ


काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले मन्त्रीले भनेको मान्नु पर्ने र सोही अनुसार काम गर्नुपर्ने धम्की दिनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले मन्त्रीले भनेको कुरा कर्मचारीले नमान्ने हो भने मन्त्री हुनुको कुनै अर्थ नै नहुने बताउनुभयो । जस्तोसुकै मानिस मन्त्री भएर गए पनि कर्मचारीले उसले भनेको कुरा मान्नु पर्ने देउवाले बताउनुभयो ।

‘भोट कहाँ हाल्ने हो हाले हुन्छ आफ्नो ठाउँमा तर सरकारको कुरा त मान्नु पर्‍यो नि, भोट हाल्ने कुरा माओवादीलाई हाले हुन्छ, एमालेलाई हाले हुन्छ, कसलाई हाल्ने हो हाले हुन्छ, तर सरकार भएपछि सरकारले भनेको कुरा मान्नु पर्ने हुन्छ, त्यस कारण यो कुरा तपाईँहरूले मान्नुस्, होइन भने गाह्रो पर्छ’, उहाँले भन्नुभयो ।

उहाँले चुनाव जितेर आएर मन्त्री भइसकेको मान्छेले भनेको कुरा कर्मचारीले मान्दिन भन्न नमिल्ने प्रष्ट पार्नुभयो । मन्त्रीका कतिपय कुरा चित्त नबुझे पनि मान्नु पर्ने उहाँले सुनाउनुभयो । ‘मन्त्री भइसक्यो, चुनाव जितेर आइसक्यो, के गर्नुहुन्छ रु मन पर्छ पर्दैन, मन्त्री भइसक्यो त, त्यस कारण मन्त्रीको कुरा पनि मान्नु पर्छ, मन्त्रीको कुरा माने न भने त उसले पनि निर्णय गर्न सक्छ नि’,उहाँले भन्नुभयो ।

उहाँले आफू गृह मन्त्री हुँदा आफूले भनेको नमान्ने एकजना प्रहरी अधिकृतलाई जागिरबाटै निकालिदिएको सुनाउनुभयो । मन्त्री आउने जाने हो भनेर फुर्ती लगाउने ती प्रहरी अधिकृतलाई पख म आउने जाने हो, तँ गए पछि गएको गएकै हुन्छस् भनेर निकालिदिएको उहाँले बताउनुभयो ।

कर्मचारी र जनप्रतिनिधि बिचको लडाइँ संसार भरिको लडाइँ भएको देउवाले बताउनुभयो । त्यसैले यसको सन्तुलन मिलाएर लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कर्मचारीलाई सन्तुलन मिलाएर हिँड्न आग्रह गर्नुभयो । निजामती कर्मचारी युनियन डेमोक्रेटिक संगठन भएकोले अन्य संगठन जस्तो पार्टीले जे भन्यो त्यही मानेर हिँड्नु पनि नपर्ने उहाँले प्रष्ट पार्नुभयो ।