जनता टाइम्स

२२ भाद्र २०८०, शुक्रबार २०:१०

कोशीले खोल्दैछ कांग्रेस–एमालेबीच सत्ता सहकार्यको ढोका, यस्तो छ दुवै दलको गृहकार्य


बिराटनगर, भदौ २२ । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्यको संभावना देखिएको छ ।

कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री उद्धव थापाले एमालेसँग सहकार्य गर्न सकिने आधारसहित आफ्नो धारणा सार्वजनिक गरेपछि कोहीबाट एमाले र कांग्रेसको सहकार्य सुरु हुने देखिएको हो ।

थापाले एमालेसँग कार्यकाल बाँडन सकिने भन्दै संविधाको धारा १६८ को उपधारा ५ बमोजिम सरकार बन्दा फेरि आफू नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको बताउनु भएको छ ।
शुक्रबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै थापाले त्यो धाराअन्तर्गत सरकार बन्दा आफू मुख्यमन्त्री बन्न बहुमत रहेको बताउनु भयो ।
‘त्यो सम्भावना छ । विश्वासको मत लिन नसके मध्यावधि निर्वाचन हुन्छ,’ थापाले भन्नुभयो । थापाले कांग्रेस र एमाले मिलेर सरकार निरन्तर गर्ने विषयमा पनि सम्भावना खुला रहेको बताउनु भयो ।

आधा–आधा कार्यकाल बाँड्न सकिने तर यो विषयमा शीर्षस्थ नेताहरूको तहमा छलफल हुनुपर्ने थापाको भनाई छ । सर्वाेच्च अदालतको परमादेशपछि आजै मुख्यमन्त्रीमा नियुक्त भई शपथग्रहनसहित कार्यभार सम्हाल्नुभएका एमाले नेता हिक्मत कार्कीले यसअघि नै कांग्रेससँग सहकार्यको प्रस्ताव राख्नुभएको थियो ।

 

सत्तारुढ गठबन्धनको प्रमुख दल कांग्रेसभित्र प्रधानमन्त्री र गृहमन्त्रीले माओवादी नेताका अपराध ढाकछोप गर्न कांग्रेस नेताहरुलाई छानीछानी फसाउने काम गरेको भन्दै चर्काे बिरोध भइरहँदा कोशीमा देखिएको यो घटनाले कोशीबाटै एमाले कांग्रेसबीच सहकार्यको ढोका खुल्ने अवस्था देखिएको हो ।