जनता टाइम्स

२३ भाद्र २०८०, शनिबार १६:३५

सरकारी गाडीको दुरुपयोग रोक्न युवा संघको सह्रानीय काम, जनकपुरमा ११ वटा सरकारी गाडी नियन्त्रण


धनुषा, भदौ २३ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ ।

युवा संघले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न शनिबारदेखि अभियान थालेको हो । संघले आज शनिबार बिदाको दिन जनकपुरधामबाट सरकारी नम्बर प्लेटका ११ वटा गाडी नियन्त्रणमा लिइएको जनाएको छ । जसमा चारपांग्रे २ र ९ वटा मोटरसाइकल छन् ।

युवा संघले नियन्त्रणमा लिइएका ११ वटा सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाएको छ । सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग बढेपछि अभियान थालिएको युवा संघले जनाएको छ ।

बिदाको दिन सरकारी गाडी गुडाउन प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिनुपर्छ । अनुमतिबिना सरकारी गाडी दुरुप्योग गर्ने क्रम बढेपछि त्यसलाई रोक्न पहल थालिएको युवा संघले जनाएको छ । संघले यो अभियान निरन्तर जारी रहने पनि बताएको छ ।