जनता टाइम्स

२४ भाद्र २०८०, आईतवार ११:२९

धरानका मेयर हर्क साम्पाङले थुनाएका युवालाई वडाध्यक्षले छुटाए


धरान, भदौ २४ । धरानका मेयर हर्क साम्पाङले थुनाएका धरान १५ का स्थानीय युवा अशोक लिम्बुलाई सोही वडाका अध्यक्ष नरेश कुमार इवारामले जिम्मा लिएर छुटाउनु भएको छ ।

वडा प्रहरी कार्यालयका अनुसारका शुक्रवार मेयर साम्पाङलाई प्रश्न गर्दा पक्राउ परेका अशोक लिम्बुलाई १५ नम्बरका वडाध्यक्षको जिम्मा लगाएर रिहा गरिएको हो ।

केही समयअघिमात्र वैदेशिक रोजगारीबाट फर्केका युवा लिम्बुले स्थानीयलाई समस्या पर्दा मेयरले बेवास्ता गरेको भन्दै फोटो खिच्नका लागि मात्र टोलमा किन आएको भनी प्रश्न गर्दा मेयरले पक्राउ गरी प्रहरी हिरासतमा पठाएका थिए । लिम्बुसहितको टिमले चन्दा उठाएर मिर्गौला पीडित असहाय परिवारको उपचारमा सहयोग गरेको थियो । त्यसबेला नआउने नगरपालिकाले अहिले आएर उनीहरूको फोटो खिचेकोमा लिम्बुले प्रश्न गर्नुभएको थियो ।

मेयर साम्पाङले भने अशोकलाई गुण्डागर्दीको आरोपमा पक्राउ गरी हिरासतमा पठाउनु भएको थियो । अशोक छुटेपछि पनि मेयर साम्पाङले सदाझैँ फेसबुकमार्फत गुण्डागर्दीविरुद्धको आफ्नो अभियान नरोकिने बताउनु भएको छ । ।

स्थानीयका अनुसार वैदेशिक रोजगारीबाट फर्केका अशोक गुण्डागर्दी र गलत क्रियाकलापमा संलग्न भएको अहिलेसम्म कतै पनि भेटिएको छैन । बरु अशोकले डेंगुबाट संक्रमित भएका तर परिवारमा सबै अपांग भएका कारण उपचार नपाएकाहरूको उपचारमा चन्दा संकलन गरेको पाइएको छ ।