जनता टाइम्स

२७ भाद्र २०८०, बुधबार ११:२७

नेम्वाङको पार्थिव शरीर आज दिउँसोदेखि निवासमा राखिने, भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि


काठमाडौं, भदौ २७ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ ।

उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा आज बिहान ९ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्नका लागि एमाले मुख्यालय च्यासलमै व्यवस्था मिलाइएको छ ।

एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेपछि बालुवाटारस्थित उहाँको निवासमा राखिने भएको छ । त्यहाँ नेम्वाङप्रति उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । सरकारले बिहीवार सार्वजनिक बिदासमेत दिएको छ ।