काठमाडौं, २८ भदौ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको करिब एक किलो सुन प्रकरणको अनुसन्धान काभ्रेका कांग्रेस नेतातर्फ मोडिएको छ । अनुसन्धानका सिलसिलामा यसमा कांग्रेसको युवा संगठन तरुण दलका नेता विकास लामाको संलग्नता देखिएको प्रहरीले बताएको छ ।
विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत मंगलबार बिहान साढे ९ बजे ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो ।सुनका भरिया दोङलाई पच्छ्याउँदै जाँदा सुन लिन आउने काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपािलका–३, सानोपोखरा घर भई बनेपा बस्दै आएका दोर्जे स्याङ्तान पक्राउ परेका थिए ।उनीहरुको बयानबाट यसमा काभ्रेका विकास लामाको संलग्नता पनि खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोद ढुंगेलले पनि सुन प्रकरणमा लामाको खोजी भइरहेको पुष्टि गर्नुभयो ।स्रोतका अनुसार, जगत र दोर्जेले सुन रिसिभ गर्न समेत विकासकै बागमती प्रदेश ०१ २७ प. च. ९९६० नम्बरको गाडी लिएर गएका थिए ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, जगतले सुन आफ्नै भएको बताउनुहुन्छ पनि सम्पर्क विवरण र गाडीबाट यसमा विकासको पनि संलग्नता खुलेको थियो ।हाल प्रहरी विकासको खोजीमा जुटेको छ । विकासलाई ६ कात्तिक २०७९ मा सत्तारुढ नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश प्रचार समिति सदस्यमा मनोनित गर्नुभएको थियो ।प्रहरीका अनुसार, विकास बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री तीर्थबहादुर लामा निकट व्यक्ति हुन् । उनकै जोडबलमा विकास गएको चुनावमा प्रदेशसभाको समानुपातिक उम्मेदवारका लागि सिफारिसमा परेका थिए ।













प्रतिक्रिया दिनुहोस्