उदयपुर, भदौ २९ । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले मुलुकका प्रधानमन्त्री नै सामाजिक सदभाव विथोल्ने गरी हिंसात्मक गतिबिधिमा संलग्न रहेको आरोप लगाउनु भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल उदयपुरको दशौँ जिल्ला अधिवेशनको उद्घाटन पूर्वप्रेस चौतारी नेपाल उदयपुरले सदरमुकाम गाईघाटमा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले अति जातिवादी र अराजक तत्वहरुको झुण्डलाई प्रोत्साहन पुग्ने गरी प्रधानमन्त्रीले प्रसय दिइरहेको बताउनु भयो ।
बस्नेतले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति देशलाई अस्थिरतातर्फ धकल्ने मात्र भएकाले जथाभावि बोलेर समाजलाई जजरजस्त हिंसात्मक दिशातर्फ लैजान खोजे एमाले चुप लागेर नबस्ने बताउनु भयो । ‘हिजो कोशी प्रदेशमा मतदान गर्न आफ्ना संसदलाई ह्विप जारी गर्ने, आज सान्त्वना लिन वहुमत दिनुस, पहिचानका आधारमा नामांकरण गर्छु भनेर दोहोरो भुमिका खेल्दा मुलुक भडखालोमा पर्ने संकेत देखिएको छ,’ बस्नेतले भन्नुभयो ।
उहाँले पहिचानका नाममा प्रधनमन्त्रीको संलग्नतामा नै जातीय, धार्मिक तथा सामाजिक सद्भाव विथोल्न खोज्ने गिरोह सकृय भएको बताउनु भयो । ‘एकातर्फ अति हिन्दुवादीहरु धर्मको नाममा छिमेकी मुलुकबाट भित्रिएको अर्कोतर्फ अति जातिवादीहरु बर्षौदेखिको सामाजिक सद्भाव विथोल्न हिंसात्मक गतिविधि मच्चाईरहेका छन, यी दुबै नेपाल र नेपालीको हितमा छैनन,’ बस्नेतले भन्नुभयो ।
बस्नेतले सामाजिक सद्भाव, राष्ट्रिय एकता सहितको समुद्धीको यात्रा नै एमालेको पहिचान भएको स्पष्ट पार्नुभयो । राष्ट्रिय एकता र सामाजिक सद्भावलाई दरो बनाउन खोज्दा राष्ट्रिय राजनीतिमा नै एमालेमाथि आक्रमण भएको उहाँको भनाई थियो । पछिल्लो समय पुर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई वामपन्थी एकताको नेतृत्व तपाईले गर्नुपर्छ भन्दै अनावश्यक विवादमा मुछेर एमालेलाई कमजोर बनाउने खेलमा नेकपा माओबादीका अध्यक्ष प्रचण्ड आफै लागेको भन्दै हल्लाको पछि नलाग्न बस्नेतले आग्रह गर्नुभयो ।
‘अहिलेको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्प छैन र यसबारे बहश पनि भएको छैन,’ बस्नेतले भन्नुभयो, ‘यस्तो वहश प्रायोजित रुपमा फेसबुक जस्ता सामाजिक सञ्जालहरुमा मात्र चलाइएका हुन, यो वेमौसमी वाजा हो ।’ उहाँले कम्इुनिष्टका नाममा कलंक बनेकाहरुलाई भित्र्याउन एमाले तयार नभएको बताउनु भयो । ‘कम्युनिष्ट पार्टीको वोर्ड र व्यानरका आधारमा फोहोरका डंगुरलाई भित्र्याउने एमालेको कुनै नीति छैन र सेनापति मिलाएर कम्युनिष्ट पार्टी बन्छ भन्नेमा विश्वस्थ छैनौं,’ बस्नेतले भन्नुभयो ।
पछिल्लो समय सुशासन र भ्रष्टचारका नाममा सरकारले जतिपनि गतिविधि गरेको छ, त्यो केवल भ्रष्टचार मिलाउने खेल मात्र भएको पनि बस्नेतको भनाई छ । पूर्वमन्त्रीसमेत रहेका बस्नेतले भ्रष्टाचार, अनियमितता, ब्यथिति, असुरक्षा जस्ता कुरा प्रधानमन्त्री पुष्पकमल दहालकै कारण मौलाएकाले त्यसविरुद्ध राष्ट्रिय युवा संघ नेपालले अभियान सुरु गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्