काठमाडौं, भदौ ३० । चिनियाँ रक्षामन्त्री ली साङ् फु दुई सातादेखि सम्पर्कबिहीन हुनुभएको छ । विदेशमन्त्री छिन काङ सम्पर्क बिहीन भएकोडेढ महिनापछि रक्षामन्त्री पनि सम्पर्कबिहीन बन्नुभएको हो ।
बिदेशमन्त्री काङ सार्वजनिक जीवनमा नदेखिएको एक महिनापछि गत जुलाईमा मात्रै पदमुक्त गरिएको चिनियाँ सरकारले बतायो । त्यसको दुई महिना नपुग्दै फेरि रक्षामन्त्री ली साङ् फु दुई सातादेखि सार्वजनिक रूपमा देखिनुभएको छैन ।
अमेरिका र चिनियाँ स्रोतहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले रक्षामन्त्री लीलाई शुक्रबार पदमुक्त गरिएको भिडियो रिपोर्ट सार्वजनिक गरेको छ । यता रक्षामन्त्री लीको ‘सार्वजनिक अनुपस्थिति’को बारेमा भने चिनियाँ सरकारले कुनै प्रतिक्रिया दिएको छैन । गत साता चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले ‘रक्षामन्त्रीको अवस्थाबारे जानकार नभएको’ बताउनु भएको थियो ।
लीको अनुपस्थितिलाई लिएर विदेशी कूटनीतिज्ञले पनि प्रश्न उठाउन थालेका छन । जापानका लागि अमेरिकी कूटनीतिज्ञ रहम इमानुयलले महत्वपूर्ण सैन्य बैठकहरूमा पनि चिनियाँ रक्षामन्त्री नदेखिनु गम्भीर भएको बताउनु भयो । उहाँले सामाजिक सञ्जाल ‘एक्स’मा चिनियाँ सरकारमा ‘बेरोजगारी दर’ अति उच्च रहेको तथा धेरै वरिष्ठ सैन्य अधिकारीलाई अवकाशमा पठाइएको उल्लेख गर्दै रक्षामन्त्री लीको अनुपस्थितिले उहाँलाई जिम्मेवारीविहीन बनाइएको पुष्टि गर्न बल मिलेको उल्लेख गर्नुभएको छ ।
यसरी महत्वपूर्ण जिम्मेवारी सम्हालेका चिनियाँ राजनीतिज्ञहरू एकपछि अर्को अचानक एकाएक टाढिएको विषयलाई चीनले भने लुकाउँदै आएको छ । चिनियाँ सरकारले यस्तो विषयलाई पनि गोप्य राख्नुको पछि आशंका गर्ने धेरै विषय भएको कूटनीतिज्ञहरू आशंका गर्छन । ‘के उनीहरूलाई चिनियाँ सरकारले गम्भीर सजाय त दिइएन ?’ धेरैले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।
केही दिनअघि मात्रै धेरै चिनियाँ सैन्य अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको थियो । त्यस लगत्तै रक्षामन्त्री पनि सार्वजनिक रूपमा देखिएका छैनन । उहाँ गत २९ अगस्टमा बेइजिङमा भएको अफ्रिकी मुलुकसँगको सुरक्षा फोरमको बैठकमा सहभागी हुनुभएको थियो । त्यसयता सार्वजनिक रूपमा नेखिएको बिबिसीले जनाएको छ । लि चीनको एयरोस्पेस इन्जिनियरको रूपमा चीनको स्याटेलाइट र रकेट सेन्टरबाट सुरु गरेको सैन्य करिअरबाट रक्षामन्त्रीसम्म बन्नुभएको थियो ।
पूर्वविदेशमन्त्रीजस्तै छिन साङजस्तै लीलाई पनि राष्ट्रपति सी जिनपिङको विश्वासपात्रको रूपमा हेरिएको थियो । सैन्य भ्रष्टाचार शुद्धीकरणको अभियान पहिलो पटक अगस्टको सुरुमा लन्च गरिएपछि चीनको रकेट फोर्समा दुई जनरलहरूलाई प्रतिस्थापन गरिएको थियो । भ्रष्टाचार मुद्दामा नै सेनाको सैनिक अदालतका अध्यक्षलाई पनि नियुक्ति भएको महिनौंपछि हटाइएको थियो।
जनरल ली भियतनाम भ्रमण अचानक छोट्टयाएर फकिर्नुभएको थियो भने हालै सिंगापुरको नौसेना प्रमुखसँग बेइजिङको बैठकमा जनरल ली उपस्थित हुनुभएन । भियतनामी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले ली गत हप्ता भियतनामी रक्षा नेताहरूसँगको बैठकबाट अचानक बाहिरिएको र जसलाई चिनियाँ जनरलको ‘स्वास्थ्य अवस्था’ मा समस्या भएको बताइएको थियो।













प्रतिक्रिया दिनुहोस्