बिराटनगर, भदौ ३० । नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको लोगो सार्वजनिक भएको छ । आगामी असोज १२ र १३ गते विराटनगरमा हुन लागेको प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको हो ।
एमाले कोशी प्रदेशका सचिव चिन्तन पाठकका अनुसार अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले असोज १२ गते गर्ने कार्यक्रम रहेको छ । पाठकका अनुसार प्रदेश अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि प्रदेश इञ्चार्ज, प्रदेशका पदाधिकारी, प्रदेशका केन्द्रीय सदस्य लगायतका नेता कार्यकर्ता तोकिएको जिम्मेवारी अनुसार काममा खटिएका छन ।
प्रदेश अधिवेशन सम्पन्न गर्ने विभिन्न उपसमिति बनाएर कार्य विभाजन गरिएको छ । प्रदेश अधिवेशनका लागि १४ वटै जिल्लामा असोज ५ गते एकै दिन प्रतिनिधि छनौट गर्ने निर्णय भएको छ । प्रदेशभरी करिब ११ सय प्रतिनिधि हुनेछन । अहिलेका प्रदेश कमिटी सदस्यसमेत प्रतिनिधि हुन तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने प्रावधान छ ।
कोशी प्रदेशमा केन्द्रीय सदस्य बिनोद ढकाल र बर्तमान अध्यक्ष तुलसी न्यौपाने, पूर्वसांसद तथा कोशी प्रचार बिभाग प्रमुख घणश्याम खतिवडासहितका नेता अध्यक्षको दावेदार हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्