जनता टाइम्स

३१ भाद्र २०८०, आईतवार १४:२१

तीनकुने सामुहिक हत्याकाण्डमा थप एक जना पक्राउ, हतियार पनि बरामद


काठमाडौं, भदौ ३१ । काठमाडौंको तीनकुनेमा शुक्रबार राति चार जनाको सामुहिक हत्या भएको घटनामा थप एक जना पक्राउ परेका छन्।

प्रहरीले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आज बिहान लोकन्थलीबाट पक्राउ गरेको हो। हत्यामा संलग्न भएको आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार राति ११ः५५ बजे काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित दिव्य सः मिलभित्र काठले बनेको टहरामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो।

उक्त सूचना प्राप्त भएपछि प्रहरीको टोली खटिएको थियो। प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा सुरूमा हतियार फेला परेको थिएन। शनिबार भने हतियार फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ । घटनामा प्रयोग भएको धारिलो हतियार दाउ पनि प्रहरीले बरामद गरेको छ।

दोलखा घर भई काष्ठ मिलमा गार्ड काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उहाँकी ५० वर्षीया श्रीमती अम्बिका भुजेल, कुमारकी ७६ वर्षीया आमा शुभद्रा भुजेल, र मोरङ बेलबारी घर भई उक्त मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नविन राईको हत्या भएको थियो।

मृतक सवैका टाउको र शरीरका अन्य विभिन्न भागमा हतियारले प्रहार भएको देखिएको प्रहरीले जनाएको छ । यो घटना एक जना व्यक्तिले मात्रै पनि गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक विश्लेषण छ।

प्रहरीले घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुर समेत परिचालन गरेको थियो। त्यस्तै प्राविधिक पाटोबाट पनि अनुसन्धान गरिरहेको छ। उक्त मिल दोलखा कालिञञ्चोक गाउँपालिका ८ घर भई गौशाला निवासी बालकृष्ण शिवाकोटीको हो। शिवाकोटी दोलखाका एमाले नेता हुनुहुन्छ ।