जनता टाइम्स

२ आश्विन २०८०, मंगलवार १३:२१

दक्षिण कोरियाली प्रहरीको अनुसन्धानमा परे माओवादी नेता दीपशिखा


सउल,, असोज २ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ माथि दक्षिण कोरियाली प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहेको छ ।

गत अगस्ट १० मा कोरिया आउनु भएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान थालेको हो । स्रोतका अनुसार दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिनु भएको थियो । राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ ।

पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी सेवन गरिरहनु भएकी राजदूत प्याकुरेलले दीपशिखासँग पनि त्यही औषधी मगाउनु भएको हो । कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नभएपछि कोरियन अधिकारीहरूले रोकेका थिए ।

दिपशिखाले राजदूतले मगाएको औषधी बोकेका बताए पनि कोरियाली अध्यागमनमा रोकिएपछि दूतावासले उहाँलाई छुटाउन पहल गरेको थियो। दूतावासको अनुरोधपछि दीपशिखा औषधी अध्यागमनमै छोडेर विमानस्थलबाट बाहिर निस्किन पाउनु भएको थियो ।

उहाँमाथिको अनुसन्धान अझै सकिएको छैन । कोरियास्थित नेपाली दूतावास स्रोतका अनुसार कोरियाली अधिकारीहरूले अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन । अनुसन्धान नसकिएसम्म दीपशिखाले कोरिया छाड्न पाउने छैनन ।

कोरियाली प्रहरीको छानविनमा परेको समाचार बाहिर आएपछि सापकोटाले फेसबुकमार्फत नै आफू छानविन नसकिदासम्म कोरिया छाडन नपाउने तर केही दिनमा छानविन पूरा हुने जानकारी दिनुभएको छ ।

सापकोटाले भन्नुभएको छ, म गत अगस्ट १० तारिखमा कोरियाको नेपालि जनप्रगतिशिल मन्चको कार्यक्रममा भाग लिन आउने क्रममा महामहीम राजदुत ज्योति प्याकुरेलले विगत १ वर्षदेखि सेवन गरिरहनुभएको औषधि मगाउनुभएकोले लिएर आएको थिएँ । अन्जानबस डाक्टरको प्रिस्किप्सन म सँग नभएकोले कोरियन सरकारको भन्सारले प्रिस्किप्सन सहीत अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदुताबासले मागेका डकुमेन्टहरू बुझाईसकेको छ ।’

उहाँले भन्सारको भेरिफिकेशन नसकिएसम्मनेपाल फर्कन नदिएको भन्दै थप्नुभएको छ, ‘भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केहिपनि होईन । नियतबस कुनै कमजोरी नगरेको कारण चाँडै नेपाल फर्कनेमा विस्वस्त छु । आफ्नै देशको विमार राजदुतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्याईदिन र पिडित मलाई थप पिडा नदिनु हुन नेपालि मिडिया, सामाजिक संजालका साथिहरूमा अपिल गर्दछु ।’