जनता टाइम्स

२ आश्विन २०८०, मंगलवार १५:२८

सुवास नेम्वाङका पुत्र सुहाङको अठोट : बुबाको सपना पूरा गर्न लागिरहन्छु


इलाम, असोज ३ । नेकपा एमालेका दिंवगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले आफू राजनीतिमा नभए पनि बुबाका अधुरा सपना पूरा गर्न लागिपर्ने अठोट गर्नुभएको छ ।

नेकपा एमाले इलामले आज आयोजना गरेको श्रद्धान्जली सभामा बोल्दै उपाध्यक्ष नेम्वाङका कान्छा छोरा सुहानङले यस्तो अठोट गर्नुभएको हो । उहाँले आफ पिता सुवास सधैं लोकतन्त्र र बहुदलीय प्रतिष्पर्धाका हिमायती भएको बताउनु भयो । आफू राजनीतिक परिवारमा जन्मे हुर्केकै कारणले राजनीतिमा अवसर पाउनु पर्ने नठान्ने तर बुबाको सपना पूरा गर्न सामाजिक तथा कानुनी क्षेत्रबाट अघि बढिरहने प्रतिवद्धता उहाँले जनाउनु भयो ।

नेम्वाङले दैव छन कि छैनन आफूलाई थाहा नभएको तर यदी दैवको अस्तित्व रहेको भए उनले आफ्ना बुबालाई अन्याय गरेको बताउनु भयो । नेम्वाङले आफ्ना बुबा सधैं लोकतन्त्र बलियो होस, संविधान र कानुनको राज होस भनेर दौडधुप गर्ने नेता भएको स्मरण पनि गर्नुभयो ।

बुबाको मृत्यूपछि अस्पतालदेखि आर्यघाटसम्म नेकपा एमालेले गरेको व्यवस्थापनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सवै नेतागणलाई धन्यवाद दिनुभयो । यसैगरी राजकीय सम्मान दिएकोमा सरकारलाई पनि उहाँले धन्यवाद दिनुभएको छ ।

एमालेले आज सातै प्रदेशमा संविधान र सुवास भन्ने कार्यक्रम आयोजना गरेर श्रद्धान्जली सभा गरिरहेको छ । कोशी प्रदेशको श्रद्धान्जलीसभा इलाममा आयोजना गरिएको हो ।