जनता टाइम्स

३ आश्विन २०८०, बुधबार १३:१४

शिक्षा विधेयकविरुद्ध आन्दोलनमा उत्रिए देशैभरका शिक्षक


काठमाडौं, असोज ३ । नेपाल शिक्षक महासंघ सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ती जनाउँदै आन्दोलित भएको छ ।

महांसघले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने बनेको विधेयक २०८० शिक्षकहरूको हकहित विपरीत भएको भन्दै काठमाडौंको माइतीघरमा शक्ति प्रदर्शन गरेको छ ।

देशभरबाट विद्यालय नै बन्द गरेर काठमाडौं आएका शिक्षकहरू माइतीघरमा भेला भइ प्रदर्शनमा उत्रिएका हुन । शिक्षकहरूको प्रदर्शनका कारण सो सडक खण्डको ट्राफिक अस्तव्यस्त बनेको छ ।

विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवालमा ध्यान दिन नसकेको महासंघको भनाई छ ।

त्यस्तै अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासंघले जनाएको छ ।

शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने माग पनि महासंघको छ ।

शिक्षकहरुले आन्दोलन गरेपछि सरकारले शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । संयोजक राईले वार्तामा आह्वान गरेपनि महासंघले भने आफूहरुको सवाल शिक्षा मन्त्रालयसँग मात्रै नभएको भन्दै वार्तामा बस्न मानेको छैन ।

विधेयक संशोधन नभएसम्म काममा नर्फकिने उनीहरूले चेतावनी दिएका छन । नेपालमा हाल सार्वजनिक र निजी गरी हाल ३४ हजार विद्यालय सञ्चालनमा छन ।